१४ असार २०७७, आईतवार
  • घनश्याम मिश्र,

जनकपुराधम, १४ असार । प्रादेशिक अस्पतालमा उपचारको अभावमा ज्या’न गुमाएका राजु सदाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन गरिएको छ ।

आइतबार प्रदेश २ को प्रदेशसभा बैठकमा प्रादेशिक अस्पतालमा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो ।

समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरिता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह रहेका छन् ।

सभामुखको निर्देशनमा रहेर समितिले आवश्यकता अनुसार विशेषज्ञालगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने, अनुगमन वा निरीक्षण गर्न सक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने र पदाधिकारीहरुसँग छलफल गर्न सक्ने समितिको कार्यविधि बनाइएको सभामुख सरोज यादवले बताए ।

उक्त समितिले ५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ । कोरोना संक्रमण भएको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाका हंसपुर नगरपालिका वडा नम्बर ७ प्रसाहीका १६ वर्षीय राजु सदाको उपचारको अभावमा मृ’त्यु भएको थियो ।

राजु सदाको मृ’त्यू भएपछि उनका परिवारले अनुसन्धानको माग गर्दै आइरहेको छ । भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएको सदालाई प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना गरिएको थियो ।

कोरोना नभई अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो, तर अस्पतालमा कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि ९ गते विहान उनको मृत्यु भएको थियो ।

यस घटनको छानविन गर्न प्रदेश सरकारले समेत तीन सदस्यीय समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV