१४ असार २०७७, आईतवार

काठमाडौं, १४ असार । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने बताउनु भएको छ ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो , पाप लाग्छ ।’

राज्यमन्त्री दुगडले वर्तमान सरकार पारदर्शी रहेको र केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र नेपाली जनता सबैको लागि सौभाग्यको कुरा भएको तर्क पनि गर्नु भयो । उहाँले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको गुनासो समेत गर्नुभयो ।

मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पार्दै भन्नुभयो ,‘प्रधानमन्त्री बदल्ने काम दूर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् । प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ रु सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ ।

भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’ उहाँले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर पनि गर्नुभयो ।

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि पनि राज्यमन्त्री दुगडको भनाइ छ ।

उहाँले अगाडि भन्नुभयो‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतिमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि डराउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो ।’

नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि उनले टिप्पणी गर्दै मन्त्री दुगडले भन्नुभयो,‘भारतले कहिल्यैपनि त्यस्तो काम गर्दैन् ।

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । सानो–सानो कुराले दुई देशबीचको सम्बन्ध टुट्दैन् । नाकाबन्दी लगाउँछ भन्नु भ्रामक कुरा हो ।’ नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा जनस्तरमा द्धेष उत्पन्न गराउने काम कतैबाट पनि हुन नहुने पनि उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV