१४ असार २०७७, आईतवार

काठमाडौं, १४ असार । नेपाल प्रेस युनियनले नुवाकोट तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि गत असार १० गते भएको दुर्व्यवहार तथा सञ्चार सामग्री तोडफोडको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले विदुर नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख स्वयंले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको घटना समेत निन्दनीय रहेको बताएको छ ।

युनियनको तर्फबाट महासचिव अजयबाबु शिवाकोटीद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ- ‘गाउँगाउँमा सिंहदरबार भनिएसँगै स्थानीय तहहरुमा अधिकार र जवाफदेही दुबै बढेको छ । तर अधिकारप्राप्त स्थानीय तहका जनप्रतिनिधिहरुको यस्ता व्यवहार अधिकार पाएका तर जवाफदेहीका कुनै पनि ख्याल नगर्ने मैमत्ता साँढेको झै देखिएको छ । गाउँगाउँमा सिंहदरवार पुग्नुको मतलब कोही पनि अधिकार प्राप्त अधिकारी सिंहजस्तै बन्नु हैन, बरु जवाफदेही र जिम्मेवारी बहन गर्ने विनयी हुनु हो भन्ने कुरा जनप्रतिनिधिहरुलाई हामी सम्झाउन चाहन्छौँ ।’

युनियनले सबै जनप्रतिनिधिहरुलाई संकटको यो समयमा पनि सञ्चारकर्म गरिरहेका सञ्चारकर्मीहरुलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणमा सहजीकरण गर्न अपिल पनि गरेको छ । साथै युनियनले सञ्चारसामग्री तोड-फोड भएका सञ्चारकर्मीहरुलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV