धनकुटाकाे पाख्रिबासमा बसपार्कको सिलान्यास



प्रकाशित मिति : Jun 28, 2020
  • कोकिला भण्डारी

धनुकुटा, १४ असार । पाख्रीवास नगरपालिका वडा नम्वर ४ स्थित रिनटिन डाँडामा बसपार्क बन्ने भएको छ । उक्त बसपार्कको संघीय सांसद राजेन्द्र कुमार राईले शनिबार एक कार्यक्रमका साथमा सिलान्यास गर्नुभएको हाे ।

बसपार्क निर्माणका लागि त्यहाँका पूर्व कार्यकारी प्रधानपञ्च लोक बहादुर थापाले २ रोपनी, स्थानीय हर्क बहादुर बस्नेतले डेढ रोपनी र योगेश खपाङ्गीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।  ७ रोपनी सरकारी जग्गा समेत जाेडेर ११ रोपनी क्षेत्रफल जग्गामा बसपार्क निर्माण गर्न लागिएको पाख्रिबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले जानकारी दिनुभयो ।

बसपार्क निर्माणका लागि शहरी विकास कार्यालय धनकुटाबाट यो वर्ष प्राप्त १ करोड रकममध्ये यही असार मसान्तसम्म ५० देखि ६० लाखसम्मको काम गरिने बताइएकाे छ । बाँकी काम क्रमिक रुपमा गर्दै जाने योजना रहेको शिलान्यास आयोजक एवं बसपार्क व्यवस्थापन समितिका संयोजक पाख्रिबास नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष सोवित निरौलाले बताउनुभयो ।

उक्त अवसरमा सांसद राईले नेपालमा करिब एक लाख मानिसलाई कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना रहेकाले भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरी विकास निर्माणका काममा अगाडि बढ्न स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

उहाँले बसपार्कको डिपीआर मिहीन र स्तरीय ढंगले गर्न आग्रह गर्दै पाख्रीवास बजारलाई व्यवस्थित गर्ने, १५ बेडको अस्पताल निर्माण लगायतका विषयमा आफू गम्भीर रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com