१४ असार २०७७, आईतवार

मोरङ, १४ असार । प्रदेश तथा सङ्घीय सरकारको आर्थिक सहयोगमा आफ्नो क्षेत्र भित्र सञ्चालित कुनै पनि योजना केही गरी पनि कमजोर हुन नदिने सांसद राजकुमार ओझाले बताउनुभएकाे छ । शनिबार सुन्दरहरैंचा नगरपालिकामा प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित विकास कार्य योजना अनुगमन गर्दै सांसद ओझाले सो कुरा बताउनु भएकाे हाे ।

ओझाले सुन्दरहरैंचा वाड नं.९, १० र ११ मा अनुगमन गर्नुभएकाे थियाे । स्थलगत अनुगमन गर्नुको साथै जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनगुनासो तथा उपलब्धिबारे पनि ओझा कुराकानी गर्नुभएकाे थियाे ।

अनुगमनको क्रममा विकासका कार्य कुनै कामहरू ८० प्रतिशत सकिसकेको र कुनै २० प्रतिशत मात्र सकिएको पाइएको  उहाँले बताउनुभयाे । बाँकी थप योजनाहरू कार्यान्वयन गर्नको लागि प्रदेश नं. १ सरकारको तर्फबाट, भौतिक पुर्वधार मन्त्रालयको तर्फबाट केही बजेट विनियोजन गर्ने काम भएको उहाँले बताउनुभयाे । ‘आफ्नो क्षेत्र भित्र विकास कार्य योजना निरन्तर रहने छ,’ उहाँले भन्नुभयाे ।

कोभिड १९ को कारण केही समय काममा अवरोध भए पनि अहिले भने निरन्तर गरिरहेको उहाँले बताउनुभयाे । ३ महिनासम्म कोरोनाको कारण केही काम गर्न नसकेको र वर्षा महिनामा काम गर्न अझै अवरोध हुने हुँदा केही दिन रोकेर यस आर्थिक वर्षको समापनसँगै म्याद थप गरी गुणस्तरिय कामको लागि प्रदेश सरकारलाई आग्रह गरिरहेको ओझाले जानकारी दिनुभयाे ।

प्रदेश र सङ्घीय सरकारबाट भएका विकास निर्माणका योजनाहरू अनुगमन गर्नका लागि नेकपा सुन्दरहरैंचाका सहइन्चार्ज तथा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य नवराज चापागाईँको संयोजकयतामा अनुगमन कमिटी निर्माण भएको उहाँले जनाकारी दिनुभयाे । प्रदेश र संघले गरिरहेको कामबारे जनतालाई बुझाउन र विकास निर्माणको काममा कुनै कमजोरी हुन नदिन अनुगमन कार्य सुरु गरेको चापागाईँले बताउनुभयाे ।

नेकपा सुन्दरहरैंचन नगर कमिटीका अध्यक्ष तथा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य केदार गुरागाईले चुनावमा जनतालाई घोषणा पत्र मार्फत देखाएको सपनाहरू पूरा गर्न पार्टी सक्रिय भएर लागि परेकाे र सोही अनुसार सञ्चालित काममा गुणस्तरियताको लागि पनि अनुगमन कार्य भइरहेको उहाँले बताउनुभयाे ।

पूर्व अञ्चल विश्व विद्यालयको प्रधान कार्यालय सुन्दरहरैंचा, गोटगाँउकै परिसरबाट सञ्चालन गर्ने भनी गरिएको प्रतिबद्धता अनुसार प्रतिनिधि सभाबाट पूर्व अञ्चल विश्व विद्यालय सम्बन्धी ऐनको संशोधन भइसकेको र राष्ट्र सभाबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुने समेत  उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV