१४ असार २०७७, आईतवार
  • बाल बिक्रम कार्की

रौतहट, १४ असार । रौतहटका दुईजना जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको बौधिमाई नगरपालिकाका वडा नम्बर ७ र ८ का वडाअध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडाअध्यक्षसँगै नगरपालिकामा कार्यरत केही कर्मचारीमा पनि संक्रमण देखिएको छ । सो नगरपालिकामा कार्यरत आइटी अफिसर, कम्प्युटर अपरेटर तथा सामाजिक परिचालकमा पनि संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र उनीहरुको कन्ट्याक टेसिङ्गको काम सुरु गरिसकेको उहाँले बताउनुभयो । प्रशासनले सो नगरपालिकालाई शिल गरेर सम्पूर्ण कार्यपालिका सदस्य तथा नगरपालिकाका कर्मचारीहरुको पनि स्वाव संकलन प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

सो नगरपालिकाका नगरप्रमुख राजिव रंजन यादवका अनुसार गत सोमबार सम्पूर्ण कार्यपालिका सदस्य र नगरपालिकाका कर्मचारीको स्वाव संकलन गरेर परिक्षणको लागि पठाउँदा दुईजना वडाअध्यक्ष र केही कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

उहाँले निरन्तर क्वारेन्टाइन व्यवस्थापन लगायत जनताको कार्यमा लागि परेकाले संक्रमणको जोखिम हुनेहुँदा आफुहरुले परिक्षण गराएको भन्दै जनप्रतिनिधीमा संक्रमण देखिनुले नगरमा त्रास सृजना भएको बताउनुभयो ।

उहाँले अब स्थानिय प्रशासनले जतिसक्दो चाँडो कन्ट्याक ट्रेसिङ्ग लगायतका काम सकेर जनतालाई त्रास मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

लामो समयसम्म क्वारेन्टाइनमा बस्नेहरुमा मात्र देखिएको रौतहटमा समुदायमा पनि संक्रमण देखिन थालेपछि स्थानिय चिन्तित बनेको छन् । यसअघि समुदायका ३ जनामा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV