१३ असार २०७७, शनिबार
  • रामहरि गजुरेल,

नुवाकोट, १३ असार । नेपालका सबै जिल्लामा संक्रमित पुगेका छन् । कोरोनामुक्त घोषित भएको रसुवा जिल्लामा पनि संक्रमित देखिएका छन् । शनिबार कोरोना भाइरस (कोभिड १९) का ९ जना संक्रमित भेटिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

map of rasuwa

रसुवामा भेटिएका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए । दुई जना भने भारतबाट आएका हुन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले भन्नुभयो, ‘उहाँहरु क्वारेन्टाइनमा नै हुनुहुन्छ, यसबाहेक अन्यको पनि परीक्षण क्रमशः गरिँदै लगिनेछ ।’

नुवाकोटमा ६ बर्षीय बालकसहित २३ जनामा कोरोना

नुवाकोटमा शनिवार एकैदिन ६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौँडामा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा जिल्लाको तारकेश्वर गाउँपालिकाका ६ बर्षीय बालक सहित ६ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित सबै भारतका विभिन्न स्थानबाट आएर गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका २५, १९, २९, ४५, २० र ६ बर्षका पुरुषहरु रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

योसंगै नुवाकोटमा कुल २३ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ९ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले बताउनु भयो ।

अहिलेसम्म नुवाकोटको तारकेश्वर गाउँपालिकाका, म्यागङ गाउँपालिका, तादी गाउँपालिका, विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमित भेटिएका छन ।

शनिबारकोसहित त्रिशूली अस्पतालको आइसोलेसनमा १० जना, खरानिटार अस्पतालको आइसोलेसनमा ३ र शुक्रराज ट्रपिकल अस्पताल टेकुमा १ जना संक्रमित उपचाररत छन् ।

शनिबार भेटिएका नयाँ संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङका लागि कार्यालयले स्थानीय तहसंग सहजीकरण सुरु गरेको कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV