१३ असार २०७७, शनिबार

काठमाडौं, १३ असार । मनसुन सुरु भएसँगै नेपालको दक्षिणी भाग डुबानमा पर्ने गरेको छ । झापादेखि कञ्चनपुरसम्म सीमावर्ती भूभागमा बसोबार गर्ने नेपाली डुबान हुने डरले निदाउनसम्म सक्दैनन् । कारण भारतले अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित बनाएका बाँध ।

समस्या समाधानका लागि सरकारसँग पटक-पटक गुहार मागेका नेपालीहरु हारिसके । प्रदेश दुई र प्रदेश पाँचसँग जोडिएका सीमामा मात्र भारतले आठ वटा बाँध बनाएको छ । ती बाहेक अन्य क्षेत्रमा गरी जम्मा २८ स्थानमा ठूला बाँध र तटबन्ध अनधिकृतरुपमा भारतले बनाएको छ ।

वर्षा लागेसँगै तराई-मधेसमा रहेका नेपालीहरु डुबानको चिन्तामा हुन्छन् । भारतले अनाधिकृतरुपमा बनाएका तटबन्ध र ठूला बाँधहरुले हरेक वर्ष नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । समस्या समाधानका लागि ठोस प्रयास नहुँदा भारतको बलमिच्याईं उस्तैछ । बेलाबखत सामान्य पहल गरेझैं भएपनि सरकारले महत्वपूर्ण कदम चाल्न सकेको छैन ।

उल्टै भारतीय सञ्चारमाध्यामहरुले नेपाललाई नै दोष दिने गरेका छन् । तर, पीडा भने भारतको गैरजिम्मेवारपनाले हुने गरेको छ । डुबानको समस्यासँग जुधिरहेका आम नेपालीका लागि सरकारले बस्ती व्यवस्थापन कार्ययोजना ल्याउनसम्म सकेको छैन ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको विपद् जोखिम तथा न्यूनीकरण कार्यकारी समितिको बैठकमा त नेपाली सेनाले भारतीय अनधिकृत संरचनाबाट आउने समस्या समाधानका लागि ध्यानाकर्षण नै गराएको थियो । अनाधिकृतरुपमा भारतले बनाएका २८ ठूला बाँध र तटबन्धले सधै नेपाली भूमि डुबानमा पर्ने गरेको छ ।

यी बाँधहरुका कारण नेपालबाट दक्षिणतर्फ बग्ने नदीनालाको प्राकृतिक बहाव थुनिने गरेको छ र यता, डुबान हुन्छ । नेपालबाट दक्षिणतर्फ बग्ने झण्डै ६० वटा नदी तथा खोलामध्ये अधिकांशको बहाव रोक्न भारतले सीमा क्षेत्रमा एकतर्फी संरचना बनाएको छ । यी सबै संरचना अन्तर्राष्ट्रिय सन्धीहरु विपरित रहेका छन ।

नेपाल मामिलामा भारतले मिचेका अन्तर्राष्ट्रिय सन्धिहरुः

–अन्तर्राष्ट्रिय नदीहरुको पानी प्रयोगसम्बन्धी अभिसन्धि (१९६६)

–संयुक्त राष्ट्रसंघको ‘कन्भेन्सन अन द ल अफ द नन नेभिगेसनल युजर्स अफ इन्टरनेशनल वाटर कोर्सेस १९९७’

–‘इन्टरनेशनल बाउन्ड्री वाटर ट्रिटी एक्ट १९९०’

यी तीन वटै सन्धि अनुसार सीमावर्ती क्षेत्रमा कुनै एक मुलुकले अर्को मुलुकलाई असर पर्ने गरी संरचना बनाउन पाइँदैन । बनाउनुपरे पूर्वसहमति लिनुपर्छ ।

एक मुलुकले अर्को मुलुकलाई प्राकृतिक वा मानवीय क्रियाकलापका कारण हानिनोक्सानी पु-याउन तथा पानीको सतह बढ्ने गरी सीमाका तल्लो र माथिल्लो ८–८ किमी तटीय क्षेत्रभित्र एकतर्फी संरचना बनाउन पाइँदैन । यी सबै अन्तर्राष्ट्रिय कानुनमा नेपाल र भारत दुवै मुलुकले हस्ताक्षर गरेका छन् ।

भारतले नेपाललाई डुबानमा पार्ने गरी बनाएका बाँधः

–मेची नदीमा दशगजा नजिकै बजारुजोत क्षेत्रमा बनाइदै गरेको बाँध

–मेचीनगर वडा नम्बर ७ कै नजिक मेची पुलको पूर्वदक्षिण क्षेत्रमा करिब ५ सय मिटरको बनाइएको बाँध

–सप्तरीको तिलाठीमा दशगजालाई मिचेर भारतले बनाएको बाँध

–प्रदेश दुईका सबैजासो जिल्लामा भारतले अनधिकृत बाँध बनाउँदा नेपाली भूभाग डुबानमा

–रौतहटको इशनाथ नगरपालिका नजिकको दशगजा मिचेर भारतले बनाएको बाँधले नेपाली भूभाग डुबानमा

–प्रदेश पाँचका अधिकांश जिल्ला पनि भारतले बनाएका बाँधबाट डुबानमा

पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँकेका सीमावर्ती गाउँहरु हरेक वर्ष डुबानमा पर्छन् । यी बाहेक पर्साको ठोरी, रामनगर, बर्मानगर, सिकारीवास, इच्छानगर, बुद्धनगर, माडी बस्ती उच्च जोखिममा छन् । मुखियापट्टी मुसहरनिया–१ को मुसहरनिया टोल पनि बिग्ही र जमुनी नदीको बाढीबाट जोखिममा छ ।

बाँकेको नरैनापुर त झनै डुबानको जोखिममा छ । भारतीय कोसी योजनाले तीन वर्षअघि कोशी ब्यारेजभन्दा तल पूर्वबाट बग्दै गरेको नदीको पाइलट च्यानल खनेर पश्चिमी तटबन्ध नजिक ल्यायो । यसबाट नेपालतर्फ गोबरगाढा टापु डुबानमा पर्ने गरेको छ । हनुमाननगर, रम्पुरा मल्हनिया, टिकुलिया लगायतका बस्तीका ३ हजारभन्दा बढी परिवारको घरमा पानी पस्ने गर्छ ।

भारतले त्रिवेणीमा बाँध बनाएर सिँचाइका लागि पानी लगेको छ । यसबाट धेरै भूभाग कटान हुने, डुबानमा पर्ने समस्या रहेको छ । हरेक वर्ष भारतका कारण दक्षिणी सीमावर्ती नेपाली भूमि मेचीदेखि महाकालीसम्म डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV