नेपालको छापाखाना इतिहासको ‘धरोहर’ जगदम्बा छापाखाना ६६ बर्षपछि बन्द



प्रकाशित मिति : Jun 27, 2020

काठमाडौं, १३ असार । ६६ वर्ष अगाडि स्थापना गरिएको जगदम्बा प्रेस बन्द भएको छ । बैशाखको पहिलो साता जगदम्बा प्रेसको हात्तीवन कार्यालयमा आफ्नो कर्मचारीहरुलाई बोलाएर सञ्चालक कनकमणि दीक्षितले मुलुककै अग्रणी छापाखाना बन्दको घोषणा गरेका थिए ।

४० जनाको हाराहारीमा कर्मचारी रहेका जगदम्बा प्रेस दुई साताअघिबाट औपचारिक रुपमै बन्द भएको छ । अहिले प्रेसको हिसाब–किताब राफराफ नहुन्जेलसम्मका लागि उच्च व्यवस्थापनका कर्मचारीहरु मात्र बाँकी रहेका जानकारी गराइएको छ ।

अन्य सबै कर्मचारीहरुलाई असारसम्मकै तलब दिनेगरी अहिले उपदान दिएर बिदा गरिसकिएको जनाइएको छ । जानकारी अनुसार नेपालकै पूरानामध्येको जगदम्बा प्रेस अहिले बिक्रीमा चढाइएको छ ।

मेशिन तथा उपकरणको बजार मूल्य मूल्यांकन गरेर त्यसभन्दा लगभग आधा मूल्यमा उक्त प्रेस बेच्न खोजिएको छ । ६ वटा मुद्रण मेशिनसँगै सीटीपी, बाइन्डिङ, फोल्डिङ, कटिङ, डाइ लगायत ४३ प्रकारका मेशिन तथा उपकरणहरुलाई जम्मा ११ करोड १२ लाख २७ हजार रुपैयाँ तोकेर बिक्रीमा राखिएको जानकारी गराइएको छ ।

सञ्चालक दीक्षितका अनुसार मेशिन तथा उपकरण मात्र किनेर अन्यत्र लगेर पनि चलाउन सक्ने तथा हाल हात्तीवनमा रहेको प्रेसको सम्पूर्ण सेटअपसहित किनेर त्यहीँ चलाउन चाहनेलाई जग्गासमेत उपलब्ध गराउन सक्नेछ ।

हात्तीवनमा जगदम्बा प्रेसको कम्पाउन्ड करिब २२ रोपनीको रहेको र जसमध्ये प्रेस चलाउनका लागि आवश्यक जग्गा नयाँ खरिदकर्तालाई दिनसक्ने सञ्चालक दीक्षितको भनाइ छ । उक्त प्रेस यथास्थितिमै किनेर चलाउन चाहेमा १० देखि १२ रोपनीसम्म जग्गा लिजमा दिइनेसमेत सञ्चालक दीक्षितको भनाइ छ ।

बिक्रीका लागि जगदम्बाले तयार पारेको मूल्यांकन विवरण अनुसार हालको बजार मूल्यका आधारमा करिब २० करोड १५ लाख रुपैयाँ बराबरको यसको मेशिनरी तथा उपकरण नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com