१३ असार २०७७, शनिबार
  • रबिना बोहरा

बागलुङ, १३ असार । निरन्तरको बर्षाका कारण बागलुङ नगरपालिका—३ कम्फुटोलमा रहेका झण्डै २० घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त घरहरु देखि झण्डै ३/४ सय मिटर तल निर्माण हुन लागेको लिफ्टिङ खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर, डोजर चलाउदा जमिन कमजोर बनेकाले पनि जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

सोही ठाउँमा बि।स २०७३ सालमा बनाएको ३ तले पक्की घरको पछाडि पट्टीबाट गत जेठ २ गते पहिरो गएको घरधनी द्धारिका शाक्यले बताउनुभयो । पहिरो गएपछि सम्बन्धित निकायलाई निवेदन दिएको भए पनि कुनै सुनुवाई नभएको उहाँको भनाइ छ ।

पुखौँ देखि यही ठाउँमा बस्दै आएको भएपनि अहिले सम्म केही नभएको ठाउँमा खानेपानी आयोजना निर्माणका लागि काम गर्न थालेसंगै जमिन कमजोर बनेको शाक्यले बताउनुभयो । शाक्यका अनुसार ३ तले घरको पछाडिपट्टी गएको पहिरोले पिल्लर छुन लागेको छ ।

पहिरो गएलगत्तै इञ्जिनियर आएर अध्ययन गरी दुई वटा घरमा रातो रिबन लगाइदिएको स्थानीयबासीले बताएका छन् । घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अधिकांश घर परिवार सुरक्षित ठाउँमा सरेका छन् ।

घरका सामानहरु नजिककै रहेको कालिका कन्या मन्दिर माध्यमिक विद्यालयमा राखेको र आफुहरु भाडाको घरमा बस्दै आएको बताएका छन् । पहिरो जान थालेपछि घरहरु जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायतका निकायमा निवेदन दिएको बताएका छन् ।

शाक्यको जस्तै यहाँका अन्य घरहरु पनि उच्च जोखिममा छन् । सोही ठाउँकी शुभकुमारी श्रेष्ठले आफु झनै दोहोरो चपेटामा परेको बताउनु हुन्छ । एकातिर खानेपानी आयोजना बनाउन स्काभेटर चलाउदा घर वरिपरिको जमिन नै भासिन थालेको छ भने अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाएको कुलोले घर धरापमा परेको बताउनुभयो ।

‘कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटको छ, पानी जमिन भित्रभित्र गएर घर नै जाला जस्तो भैसक्यो’ उहाले भन्नुभयो । दिउँसो पसल गरेर बस्ने श्रेष्ठका परिवार रातिमा भने भाडाको घरमा बस्न जाने गरेका छन् । घर नै भत्किन्छ कि भन्ने पीरले खाना पकाउन र खान समेत डर लाग्ने गरेको श्रेष्ठले बताउनुभयो ।

जति सक्दो छिटो सम्बन्धित निकायले जोखिम कम गर्नका लागि आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV