१२ असार २०७७, शुक्रबार
  • अमर काफ्ले

इनरुवा, १२ असार । सप्तकोशी नदीको बहाव यतिबेला सामान्य अवस्थामा छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशी नदीको पछिल्लो मापन १ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड छ । ब्यारेजका ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् ।

वर्षातको समय भएकाले यतिबेला नदीमा देखिएको सो बहाव सामान्य हो । सुनसरी प्रशासनले समेत कोशीको तत्कालिन बहावलाई पूर्णतया सामान्य मानेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार कोशीमा यतिबेला पानी सामान्य अवस्थामा बगिरहेको छ । दुई दिन यता पानी पर्ने क्रम जारी रहेकाले नदीको स्तर बढ्नु स्वभाविक भएको उनको भनाइ छ ।

उनले भने, “कोशीको बहाव ३ लाख नाघेको खण्डमा थप सर्तकता अपनाउनु पर्छ । तत्काल भने त्यस्तो अवस्था छैन् । यद्यपी सावधानीसहितको पूर्व तयारी भने अपनाइएको छ । ” सुनसरीका प्रहरी प्रमुख कमल थापाले समेत कोशीमा पानी बढ्ने क्रम रहेपनि आत्तिनु पर्ने अवस्था नभएको बताए । स्पर निरीक्षण र तटीय क्षेत्रको अवस्था बारे जानकारी लिइरहेको बताएका थापाले कुनैपनि असहज अवस्था नदेखिएको जनाए ।

कोशी ब्यारेजमा पानीको बहाव मापन गरिनु पूर्व चरता बाढी मापन केन्द्रमा पहिलो अपडेट निकाल्ने गरिन्छ । सुनसरी प्रहरीका अनुसार त्यहाँ समेत पानीको मापन सामान्य अवस्थामै छ । बहावले सर्तकता लेवल छोएको छैन् ।
चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेवललाई दर्शाउँछ । जल स्तर बढेर ६ मिटर नाघेको अवस्थालाई खतरा मानिन्छ भने पानीको बहावले ६ दशमलव ८ मिटर बिन्दुलाई छोए जोखिम मान्ने गरिन्छ ।

चतराको सो बहाव कोशी ब्यारेजको मापनमा आइपुग्न भने कम्तिमा पनि ३ घण्टा समय लाग्ने गरेको कोशीको जानकार रविन घिमिरे बताउँछन् । कोशी क्षेत्रका बासिन्दा घिमिरे रेडक्रसमा समेत आवद्ध व्यक्ति हुन् । निरन्तर बहाव र स्परबारे अवस्था बुझिरहेको बताउने घिमिरे पछिल्लो अवस्थाको कोशीको बहावलाई उचारचढाव पूर्ण रहेपनि अवस्था भने सामान्य बताउँछन् ।

कोशी ब्यारेज कन्ट्रोल रुमले समेत नदीमा बहाव वृद्धि हुँदै गएको भएपनि अवस्था भने सामान्य रहेको जनाएको छ । उसले कोशीको बढाव घटबढ हुने क्रममा रहेको जनाएको छ । उसले निरन्तर वर्षा जारी रहेकाले सर्तकता भने बढाउन आवश्यक रहेको जनाएको छ ।

सामान्यतयाः पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षा भैरहँदाको अवस्थामा सप्तकोशी नदीको जलस्तरमा उतारचढाव हुने गर्छ । ब्यारेज पुल निर्माणताका ९ लाख बहाव क्षमता धान्ने बताइएको भएपनि नदीमा थुप्रिदो बालुवाका कारण ५ लाख क्युसेक बढी बहावले खतरा निमत्याउन सक्ने प्राविधिकहरु बताउँछन् ।

यत वर्षको असार २८ गते ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । पुलमा बालुवा थुप्रिएर बहावमा समस्या देखिएपछि भारतीय प्राविधिकले सबै ढोका खोलेका थिए । ५६ वटा ढोका खोल्नु पूर्व ब्यारेजमा कोशीको वहाव ३ लाख ७१ हजार २ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । वर्षातको समयमा पानी पर्ने क्रमसंगै कोशीको वहावमा स्वतः उतारचढाव देखिने गर्छ । नदीको वहानमा आउने सो उतारचढाव स्वभाविक र सामान्य भएपनि सर्तकता बढाउनु आवश्यक छ ।

यद्यपी पानीको बहाव बढ्दै जाँदा गरिने विभिन्न अड्कल र आफू अनुकुलको प्रचारबाजीले भने प्रत्येक वर्ष वर्षायामसँगै कोशी किनार र आसपासका जिल्लामा निकैनै त्रास फैलाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV