१२ असार २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १२ असार । कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न नसकिने भन्दै कतिपय सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले नागरिकलाई उपचार सेवा दिन छाडेका छन ।

तर कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रले सर्पदंशका बिरामीलाई संक्रमणको जोखिमबीच नियमित उपचार सेवा दिदै आएको छ ।

उपचार केन्द्रमा कपिलवस्तु, रुपन्देही, अर्घाखाची, प्यूठान, दाङ्ग र रोल्पा जिल्लाका सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन । बुद्धभूमि नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाका स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा १५ बर्ष अघिदेखि निरन्तर सेवा दिदै आएको छ ।

केन्द्रमा नेपाली सेनाका दुई जना प्राविधिकको जनशक्ति २४ घण्टा सेवा दिन खटिने गरेका छन । उपचार केन्द्रको पूर्व पश्चिम राजमार्ग स्थित गोरुसिंगे बजारको मुख्य सडकमा १० शैया क्षमताको आफनै भवन छ ।

कोरोना संक्रमणका बेला समेत उपचार केन्द्रले जोखिमकाबीच २४ घण्टे सेवा दिएर आफुहरुलाई बचाएको उपचारका लागि आएका बिरामीहरु बताउछन ।

गत बर्ष ६ सय ६५ जनाको उपचार गरेको केन्द्रमा यस बर्ष कोरोना संक्रमणको लकडाउनका बिच १ सय ५६ जनाले उपचार पाएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गेका व्यवस्थापक नविन भण्डारी बताउनु हुन्छ ।

कोरोना संक्रमणको जोखिमका बिचमा पनि सर्पदंश उपचार केन्द्रका कर्मचारीले २४ घण्टानै खटिएर सेवा प्रवाह गर्दै आएको बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठ बताउनु हुन्छ ।

सञ्चालनमा आएको डेढ दशकको अबधिमा केन्द्रमा करिब १० हजार सर्पदंशका बिरामीले उपचार सेवा पाई सकेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV