१२ असार २०७७, शुक्रबार
  • सुमन कार्की

पाल्पा, १२ असार । विगतका वर्षहरूमा पाल्पामा असारको दोस्रो हप्तासम्म फुर्सदिला भेटिने अधिकांश कृषकहरु यस वर्ष भने असार सुरु भएसँगै धान रोप्न व्यस्त भएका छन् ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष मन्सुनी वर्षात् समयमै हुनु, कृषि मजदुरको समस्या नहुनु, कृर्षकहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएको गोरुकाे विकल्पमा आधुनिक कृषि यन्त्रको प्रयोग गर्नुजस्ता कारणले यस वर्ष कृषकहरु असारको पहिलो हप्ताबाटै रोपाइँमा व्यस्त भएका हुन् ।

जिल्लाको दोस्रो मुख्य बालीको रुपमा रहेको धान कुल क्षेत्रफलको ९ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा (जिल्लाको माडी, रामपुर, कचल, अर्गली, सर्देवा, लगुवाका फाँटहरुमा) खेती गरिँदै आएको छ । विगतका वर्षहरुमा साउनको अन्तिम हप्तासम्म धान रोपाइँ गर्ने कृषकहरु यस वर्ष मौसम र परिस्थीतिले सहयोग पुर्याएका कारण असार महिनाभरिमा रोपाइँ सकिनेमा ढुक्क छन् ।

पछिल्लाे समय यहाँका किसानहरूले यान्त्रीकरणको प्रयोगलाई वृद्धि गर्दै स्थानीय, उन्नत जात र हाईब्रिड जातको बीउ प्रयोग गर्दै आएका छन् । समयमै रोपाइँ भए पनि मौसम अनुकुल भए उत्पादनमा समेत वृद्धि हुने किसानहरू बताउछन् ।

चामलमा आत्मर्निभर भएको जिल्लामा सिचाइँको भरपर्दो र दीर्घकालीन व्यवस्थापन हुन नसक्दा चामलमा परनिर्भरता र रोपाइँका लागि आकाशकै पानीकै प्रतीक्षा गर्न यहाँकाे समस्या हाे । यस वर्ष समयमै भएको वर्षात, त्यसैमाथि अन्यत्र व्यस्त हुने मानिसहरूलाई लकडाउनले खुम्च्याउँदा पनि सहज भएको हो ।

कृषि क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको कृषि मजदूर र कृषि यन्त्र प्रयाेग भएका कारणले पनि रोपाइँमा सहजता ल्याएकाे स्थानीय बताउँछन् । यस वर्ष मौसमी अनुकुलता, यान्त्रीकरणजस्ता कारणले समयमै रोपाइँ सकिने र उत्पादन समेत वृद्धि हुने कृषक सुमा वञ्जाडे बताउनुहुन्छ ।

अन्न भण्डारको रुममा चिनिने यस क्षेत्रका फाँटहरुमा सरकारले सिचाँइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने देखिन्छ । जिल्लालाई चामलमा आत्मनिर्भर बनाउनका लागि ठूला-ठूला सिचाँइ आयोजना सम्पन्न गर्न प्रदेश, संघीय सरकारको ध्यान जान जरुरी रहेकाे स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV