१२ असार २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १२ असार । जनकपुरधाम उपमहानगरपालिकाको ५औेँ नगरसभा गैरवैधानिक तरिकाले गरिएको भन्दै असन्तुष्ट वडाध्ययक्षहरु सडक संघर्षमा जाने बताएका छन् । झन्डै एक महिनाअघि देखि मेयर लालकिशोर साहको कार्यसँग रुष्ट वडा अध्यक्षले चरणबद्ध रुपमा आन्दोलनको हल्ला-बोल गर्दै अघि बढेका हुन् ।

जनकपुरधाम असन्तुष्ट वडाध्यक्षहरुको विरोधका बीच नगरसभा भएपछि विवाद चुलिएको हो ।  नगर प्रमुख लालकिशोर साह गैर-वैधानिक तरिकाले नगरसभा गरेकोले आफूहरु बाध्य भएर सडकबाट आन्दोलन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले बताए ।
असन्तुष्ट वडाध्यक्षहरु शुक्रबार जनक चोकबाट नगरसभाको विरोधमा प्रदर्शन लागेका छन् ।

असन्तुष्ट वडाध्यक्षहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको बहुमत हुँदाहुँदै पनि नगर प्रमुखले आफ्नो भ्रष्टाचार लुकाउनकै लागि फर्जी हस्ताक्षर गराएर नगरसभा गराएको आरोप लगाए । जनकपुरधाम वडा नम्बर ९ का वडाध्यक्ष परसमेश्वर साहले आफूहरुले नगरसभा गराउनका लागि लचकता अपनाए पनि प्रमुख साहले आफूहरुसंगको वार्तामा पनि हैकमवादी चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘हामीले चालु आर्थिक वर्षको हिसाब सार्वजनिक गर्न मात्रै भन्यौँ तर मेयर साहेब तयार हुनुभएन । अन्ततः हाम्रो वार्ता असफल भयो ।’

पत्रकार सम्मेलनमा उपस्थित जनकपुरधाम वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि वडाध्यक्ष तथा वडा सदस्य र कार्यपालिका ससदस्यहरुलाई मेयर लालकिशोर साहले पैसा खर्चेर किन्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘नगरसभा नहुने देखेपछि नगर प्रमुख साह मान्छे खटाएर पैसा खर्चेर किन्ने प्रयास गरे, कति त त्यो प्रलोभनमा पनि फसे तर अधिकांश हाम्रै पक्षमा छन् ।’ वडाध्यक्ष सिंहले अहिले पनि नगरसभाको पक्षमा बहुमत नपुगेको दाबी गरे ।

यता वडा नम्बर ५ का वडाध्यक्ष मनोज साहले नगरप्रमुख लालकिशोर साहलाई नगरसभाको पक्षमा बहुमत साबित गर्न चुनौती दिएका छन् । उनले यदि नगरसभाको पक्षमा बहुमत पुुगेको छ भने अाफूहरू त्यसको सम्मान गर्दै पछाडि हट्ने तर नभए नगरसभालाई अवैधानिक घोषणा गर्न माग गरे । उनले भने, ‘उनीहरुको हस्ताक्षर रहेको भन्दै साबित गर्न हामी अदालतसम्म जान तयार छौँ ।’

यसैबीच एकजना वडा सदस्यले आफू अचेत रहेको अवस्थामा हस्ताक्षर गराइएको आरोप लगाएका छन् । जनकपुरधाम वडा नम्बर १०का वडा सदस्य अमर मण्डलले आफू अचेत रहेको अवस्थामा हस्ताक्षर गराइएको बताए । उनले भने, ‘म नगरसभाको विरोधमा आन्दोलन गरिरहँदा बेहोश भएँ, मलाई अस्पताल पुर्याइयो । कसले मलाई नगरपालिकासम्म पुर्यायो, कसरी हस्ताक्षर गराइयो, मलाई केही याद छैन ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV