११ असार २०७७, बिहीबार

काठमाडौं, ११ असार । कोरोना भाइरस नियन्त्रणका नाममा भएका खर्चबारे शंका/उपशंकाहरु कायमै छन् । कोभिड नाइन्टिन रोकथामका नाममा गठन भएका विभिन्न निकायहरुले दिएका रकम कहाँ कति खर्च भयो रु यतिवेला सरकारले अझै प्रष्ट पार्न सकेको छैन ।

यो विषय सडकदेखि सदनसम्म उठ्दै आएको छ । त्यसैले संसदको सार्वजनिक लेखा समितिले कोरोनाका नाममा भएका खर्चको छानविन मात्र थालेन, प्रारम्भिक रुपमा अनियमितता भएको निष्कर्ष समेत निकालेको छ तर, स्वास्थ्य मन्त्रालय भन्छ–’अनियमितता प्रमाणित गर ।’

स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता पहिचान भएको सर्वाजनिक लेखा समितिले भन्दै गर्दा स्वास्थ्य मन्त्रालय भने अस्वीकार गर्छ । मन्त्रालयका अनुसार अहिलेसम्म गरेको खर्च १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय मार्फत २ अर्ब ३५ करोड रुपैयाँ निकासा भएकोमा एक अर्ब ६० करोड ५२ लाख खर्च भएको छ । यो रकममा कुनै पनि अनियमिताता नभएको दाबी मन्त्रालयको छ ।

कोरोना नियन्त्रण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद, परीक्षण उपचार लगायतका कार्य स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्छ । सो कार्यका लागि सरकारले ठूलो रकम खर्च गरेको थियो ।

स्वास्थ्य सामग्री खरिद सबै भन्दा बिबादित बनेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिदको बिबाद झुटो आरोप मात्र भएको बताएको छ ।

लेखा समितिले भने स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयले खरिद ऐन नै मिचेको र अनियमितता गरेको पहिचान गरिसकेको छ ।

कोरोना नियन्त्रणका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च भएको बताइएको छ । अर्थ मन्त्रालयबाट करिब ६ अर्ब निकासा भैसकेको छ । त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार गरेको छ ।

प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश ५ मा सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ । त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

कोरोना नियन्त्रणको लागी भएको सम्पूर्ण खर्चको बिवरण झिकाएर लेखा समितीले अध्ययन गरिरहेको छ । प्रारम्भिक अध्ययनले अनियमितता भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV