११ असार २०७७, बिहीबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ११ असार । जनकपुरधाम उपमहानगरपालिकाको ५ औं नगरसभा अवैधानिक तरिकाले गरिएको भन्दै वडा अध्ययक्षहरुले असन्तुष्ट जनाएका छन् । नगर प्रमुख लालकिशोर साहले अवैधानिक तरिकाले नगरसभा गरेको भन्दै वडा अध्यक्षहरुले विरोध गरेका हुन् ।

नगर प्रमुख साहले अवैधानिक तरिकाले नगरसभा गरेकोले आफूहरु बाध्य भएर सडकबाट आन्दोलन सुरु गर्न लागेको वडा नम्बर ७ का वडा अध्यक्ष जानकी राम साहले बताए । असन्तुष्ट वडा अध्यक्षहरुले शुक्रबारदेखि जनक चोकबाट नगरसभाको बिरोधमा प्रदर्शन गर्न लागेका हुन् ।

असन्तुष्ट वडा अध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख साहले आफूले गरेको भ्रष्टाचार लुकाउनका लागि फर्जी हस्ताक्षर गराएर नगरसभा गराएको आरोप लगाएका छन् ।

जनकपुरधाम वडा नम्बर ९ का वडा अध्यक्ष परसमेश्वर साहले आफूहरुले नगरसभा गराउनका लागि लचकता अपनाए पनि नगर प्रमुख साहले भने आफ्नो हैकमवादी चरित्र देखाएको आरोप लगाए ।

उनले भने, ‘हामीले चालू आर्थिक वर्षको हिसाब सार्वजनिक गर्न मात्रै भन्यौ, तर मेयर साब तयार हुनु भएन । त्यसपछि हाम्रो वार्ता असफल भयो ।’

पत्रकार सम्मेलनमा उपस्थित वडा नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंहले अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि मेयर साहले वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिकाका ससदस्यहरुलाई पैसा खर्चेर किन्ने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘नगरसभा नहुने देखेपछि नगर प्रमुख साहले पैसा खर्चेर किन्ने प्रयास गरे । कति त त्यो प्रलोभनमा पनि फसे, तर अधिकांश हाम्रै पक्षमा छन् ।’ वडाध्यक्ष सिंहले अहिले पनि नगरसभाको पक्षमा बहुमत नपुगेको दाबी गरे ।

यता वडा नम्बर ५ का वडा अध्यक्ष मनोज साहले नगरप्रमुख लालकिशोर साहलाई नगरसभाको पक्षमा बहुमत साबित गर्न चुनौती दिएका छन् । त्यस्तै, वडा नम्बर १० का वडा सदस्य अमर मण्डलले आफू अचेत रहेको अवस्थामा हस्ताक्षर गराएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV