११ असार २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, ११ असार । मोरङको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरबाट ७० जना निको भएर डिस्चार्ज भएका छन् ।
लगातार दुई पटकको पीसीआर परीक्षण नेगेटिभ पाईएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरुमा झापाका २९ जना, सुनसरीका २० जना, मोरङका १२ जना, उदयपुरका ४ जना, इलामका २ जना रहेका छन् । यसैगरी भोजपुर ताप्लेजुङ र पाँचथरका एक एक जना रहेका छन् । गत जेठ २५ गतेदेखि ३० गतेसम्म उनीहरु उपचारका लागि क्वारेन्टाइनबाट आइसोलेशन सेन्टरमा ल्याइएका थिए ।

उनीहरुलाई प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका कर्मचारी, पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेल र स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले विदाई गर्नुभयो ।

बिहीवार ७० जना डिस्चार्ज भएसंगै प्रदेश नं. १ बाट कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश नं. १ मा बिहीवार थप ७ जना कोरोना पोजिटिभ पुष्टि भएका छन् ।

कोरोना पोजिटिभ हुनेहरुमा झापाका ४, सुनसरीका २ र मोरङका एक जना रहेका छन् । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV