११ असार २०७७, बिहीबार
  • रबिना बोहरा,

बागलुङ, ११ असार । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड अझै कालोपत्रे नहुँदा दैनिक यात्रुहरुले सास्ती खेपिरहेका छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक यस लोकमार्ग आयोजना समयमा नसकिदा बर्खायाममा हिलाम्मे र सुख्खा मौसम हुँदा धुलाम्मे भएर हिड्नुपर्ने अवस्था छ ।

सदरमुकामसंग जोडिएको घोडाबाँधे सम्मको २५ किलोमिटर सडक अझै नाजुक छ । निर्माण सुरु भएको दुई दशक बितिसक्दा समेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालकहरु बताउछन् ।

पछिल्लो समय अक्षेते–घोडाबाँधेसम्म ग्राभेल गर्ने काम भैरहेको छ तर सदरमुकामसम्म जोडिएको उपल्लाचौर–अक्षेते खण्डमा ठेकेदारको उपस्थिति छैन ।

नेपालको पूर्व–पश्चिम जोड्ने पहाडी मार्गको रुपमा रहेको यस मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिकमसान्त सम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो ।

तर समयमा सम्पन्न नभएपछि पुनःम्याद थप गरिएको छ । ठेकेदारको लापरवाही एवं सरकारको उदासिनताका कारण पनि समयमा काम नभएको स्थानीयबासी बताउछन् ।

बुर्तिबाङबाट दुई घण्टामा घोडाबाँधे आउने सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको सवारी चालकहरुले बताएका छन् । ताराखोला गाउँपालिकाका सवारी चालक सनबहादुर रोकाले जीर्ण र हिलाम्मे सडकमा गाडी चलाउनै मुस्किल हुने गरेको बताउनुभयो ।

बाटो राम्रो नभएपछि दैनिक गाडी बिग्रने गरेको भन्दै आम्दानी भन्दा खर्च बढी हुने रोकाले बताउनुभयो ।

बर्खायाममा अझै पहिरोको अवरोध छिचोलेर आउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । नाली नबन्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ ।

जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायतले लोकमार्ग निर्माणलाई तीब्रता दिन ध्यानाकार्षण गराएको बताएपनि ठेकेदार कम्पनी भने मुखदर्शक बनेको छ । सडक देख्दा यात्रुहरु रुष्ट बनेका छन् । वर्षातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटो सहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्न परेको कुविरबहादुर क्षेत्रीले बताउनुभयो ।

सदरमुकाम बागलुङ बजारदेखि बिहुँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहुँ देखि घोडा बाँधेसम्मको सडकको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको छ ।

कुल १ हजार ७ सय ७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । माथिल्लो खण्डमा ग्राभेलको काम भैरहेको भएपनि तल्लो खण्डको ठेकेदार कम्पनी नै कार्यस्थलमा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV