लकडाउनमा मिथिला चित्रकला : गर्भवती, बालबालिका र मजदूरका पीडा कोर्दै सुनैना



प्रकाशित मिति : Jun 25, 2020
  • घनश्याम मिश्र

धनुषा, ११ असार । लकडाउनकाे समयमा एक मित्रले अर्को मित्रलाई सोधे, ‘लकडाउनमा कसरी दिन बिताउने गरेका छौ ?’ अर्काे मित्रकाे  जवाफ- ‘म त दिनभर फेसबुक र पेन्टिङ गर्दै घरमा परिवारसँगै बसेँ ।’

झन्डै तीन महिनाभन्दा बढ़ी दिनिदेखि लकडाउन जारी रहँदा जीवन व्यतीत गर्दै आइरहेका आम नेपालीहरुको दिनचर्या नै फरक-फरक ढंगले बितेको छ ।

विश्वव्यापी महामारी काेभिड-१९ को कारण देश अहिले लकडाउनमा छ । यो अवस्थामा खास गर्भवती महिला, बालबालिकाहरु र मजदुरलाई धेरै नै कठिनाइ भएको छ । कलाकार सुनैना ठाकुरले चित्रकला (मिथिला) को माध्यमबाट उनीहरूका पीड़ा, चिन्ता र चुनौतीलाई क्यानभासमा काेरेकी छन् ।

९० दिनभन्दा बढ़ीको लकडाउन अवधिमा ठाकुर आफ्नो गाउँ महोत्तरीको जलेश्वर नगरपालिकास्थित घरमै बसेर चित्रमा रमाइकी रहेकी छन् । लकडाउनबीच गर्भवती महिला, बालबालिकाहरु र मजदुरको पीड़ालाई मिथिला चित्रकलाको माध्यमबाट उनले चित्रण गर्ने प्रयास गरेकी छन् ।

लकडाउनको बेलामा व्यथा लागेको व्यक्तिले एम्बुलेन्सलाई फोन गर्दा पनि पाएनन् । कसैले सहयोग नगरिदिने, हस्पिटल जाँदा पनि राम्रोसँग केयर नपाउने अवस्था अायाे । कोही कसैको घरमा नजाने र एकान्त बस्नुपर्ने जस्ता गैर-सामाजिक क्रियाकलापले गर्दा मानसिक तनाव उत्पन्न भएर कति दिदिबहिनीहरुले ज्यानै समेत गुमाएका छन् ।  यो अवस्थालाई चित्रको माध्यमबाट बाहिर ल्याउन खोजेको ठाकुरले न्यूज २४ लाई बताइन् ।

उनले चित्रको माध्यमबाट मजदुरी गरेर जीविका चलाउने मजदुर, किसान र दैनिक ज्यालादारीमा गुजारा गर्नेहरुको मुख्य चुनौतीलाई सचित्र रूपमा जीवन्तता दिन खोजेकी छन् ।

ठाकुरले एक प्रश्नको जवावमा भनिन, ‘अचानक भएको लकडाउनले यातायात बन्द भयो र दिदी-बहिनीहरु बाहिर फसे ।  यसले धेरै नै समस्या भएको महसुस गरेँ र कोर्न थालेँ चित्र ।’

ठाकुरले महिलाका पीड़ा र व्यथा बयान गर्दै भनिन्, ‘गर्भवती महिलाहरु लकडाउनबीच लामो दूरीकाे बाटो हिँडेर आउनु निकै कठिन थियाे  । हिँडदा- हिँडदै खुल्ला आकाशमुनि बच्चा पाएको अवस्थाको असह्य पीड़ालाई चित्रमा कोर्न मन लाग्यो । झन त्यस्तो बेला अर्कोलाई छुँदा कोरोना नै लाग्ने भयलाई पनि चित्रमा उतार्ने मुख्य चुनौती नै भयो । अनि  प्रयास गरेँ ।’

उनका पति शम्भू ठाकुरको सहयोगले सुनैना दर्जनाैँ पेन्टिङ गर्न सजिलाे भयाे, लकडाउनमा पनि । सुनैना मिथिला चीत्रकला गर्ने कलाकारको सुचीमा बारम्बार सुनिने नाम हो ।

जापान, अमेरिका, बांग्लादेश लगायत दर्जनाैँ विदेशी भूमिमा गएर आफ्नो कलाको जादू देखाउन सफल सुनैनाले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छिन् ।

लकडाउनले वर्तमान समयमा दिएको चुनौती र समस्याका कारण महिलाहरूले भाेगेका पीड़ाका महत्वपूर्ण अवस्थाहरुलाई चित्रमा कोर्न पाएकोमा आफू खुसी महशुस गरिरहेको सुनैनाले सुनाइन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com