११ असार २०७७, बिहीबार
  • राजन परियार

सिन्धुली, ११ असार । सिन्धुलीको ९ वटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाको घ्याङलेख गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय तहले ले ५ अर्ब १४ करोड ९ लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका छन् ।

बजेट सार्वजनिक गरेका स्थानीय तहले कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणलाई नियन्त्रण लगायत स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, आय-आर्जन, शिक्षा, रोजगारसहितका कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाढीले अन्य स्थानीय तहमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकाले १ अर्ब १६ करोड ४८ लाख १२ हजार ६ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

स्वास्थ्य क्षेत्रका साथै कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरणमा विशेष जोड दिएर सिन्धुलीगढीको विकास र प्रवर्द्धनका साथै नगरपालिकाको ८, ९, १०, १३ र १४ वडालाई कृषि औद्योगिक क्षेत्रको विकास गरी १३ नं. वडामा अटोमोबाइल शिक्षालय स्थापना गर्ने गरी बजेट सार्वजनिक गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको दुधौली नगरपालिकाले १ अर्ब २ करोड ५४ लाख ३९ हजार १ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मरिण गाउँपालिकाले ४८ करोड ४२ लाख ८३ हजार बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, शिक्षाको बजेट प्राथमिकतामा परेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

सुनकोसी गाउँपालिकाले भने एकमुष्ठमा ४८ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिए । बुधबार सार्वजनिक गरिएको बजेटमाथि छलफल गरेर स्वास्थ्य, कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा विनियोजन गरिएको सुन्दासले जानकारी दिए ।

उता हरिहरपुरगढी गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाई नै प्राथमिकतामा राखेर ४६ करोड ८० लाख रुपैयाँबढीको बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष कार्साङ्ग लामाको भनाइ छ । ‘आगामी वर्ष कोरोना भाइरसको संक्रमण व्यवस्थापनसहित चालु आर्थिक वर्षमा अधुरा रहेका कामहरुलाई समेत निरन्तरता दिँदै पूर्बाधार विकासमा समेत जोड दिइएको छ,’ लामाले भने।

तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कोरोना संक्रमणको व्यवस्थापन र उपचारमा स्वास्थ्य, रोजगारी, कृषि, पशुपालन, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ६२ करोड ६८ लाखबढीको बजेट ल्याइएको छ ।

फिक्कल गाउँपालिकाले ४३ करोड ५९ लाख ४५ हजार ३ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरेको उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिईन् । ‘पालिकाले सार्बजनिक गरेको बजेटमध्ये सबै भन्दाबढी कृषिमा २५ प्रतिशत, शिक्षामा १५ प्रतिशत, स्वास्थ्य र रोजगारीमा १०/१० प्रतिशत बजेट विनियोजन गरिएको छ,’ उनले भनिन् ।

गोलन्जोर गाउँपालिकाले ४५ करोड ४२ लाख रुपैयाँको बजेट ल्याएको गाउँपालिका अध्यक्ष पुष्प कार्कीले जानकारी देए । जसमध्ये झण्डै २९ करोड २७ लाख ९३ हजार रुपैयाँ स्वास्थ्य, कृषि, शिक्षा तथा पूर्वाधारमा खर्च गरिने जनाइएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाले भने बुधबार आफ्नो नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ ।

आगामी १४, १७ र २१ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरिने र २४ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV