११ असार २०७७, बिहीबार

काठमाडाैं, ११ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने बताउनु भएकाे छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ- ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि ।’

सभापति देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने पनि बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छ- ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने तर विदेशी ज्वाइँबारे मौन रहने गरी नागरिकता ऐन संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो।

उहाँले नागरिकतासम्बन्धी पछिल्लो प्रावधानले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने दाबी गर्नुभएकाे छ। उहाँले भन्नुभएकाे छ, ‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV