१० असार २०७७, बुधबार
  • दानबहादुर बुढा,

मुगु, १० असार । पहिलो कोरोना संक्रमित युवाको दोश्रो परीक्षण नेगेटिभ आएपछि मुगु कोरोना शून्य जिल्ला बनेको छ ।

गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित बनेका थिए ।

त्यसपछिका दिनमा मुगुबाट पठाइएका स्वावहरुको परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको थियो ।

जेठ २२ गते देखि गाँउपालिकाको रातापानी आईसोलेसनमा बस्दै आएका उनी र गाँउपालिकाका अन्य क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको स्वाव बिहीबार परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार बिहीवार मुगु जिल्लाकाबाट पठाएका १ सय २६ स्वावहरु मध्य ७८ वटाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ४८ स्वावको रिर्पोट आउन बाँकी छ ।

बिहीवार प्रतिष्ठानले छायाँनाथ रारा नगरपालिकाका २६ खत्याड गाँउपालिकाका १६ र मुगुम कार्मारोङ्ग गाँउपालिकाका ८४ मध्य ३६ जनाको स्वाव परीक्षण गरेको थियो ।

मुगु जिल्लाको पहिलो कोरोना संक्रमित युवाको पुनःस्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएसंगै मुगुमा संक्रमितको संख्या शून्य भएकाले मुगु जिल्लालाई कोरोना फ्रि जिल्ला बनेको पनि डाक्टर नगरकोटीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV