१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जना प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै अदालतले एक जनालाई रु एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश दिएको छ । मुद्दा पूर्पक्षका लागि थुनामा जानेहरुमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (१) र परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (३) छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भनिने सविन पुन र मोहन पुन मगरलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जानकारी अनुसार परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (२) रु १ लाख धरौटीमा रिहा भएका छन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । त्यस्तै प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझैं फरार रहेका जानकारी गराइएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका-८ सोतीमा गत जेठ १० गते भएको घटनामा जाजरकोटका पाँच जना र रुकुम (पश्चिम)का एक जनाको हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि आज थुनछेक आदेश जारी भएको हो । प’क्राउ परेका २९ जनामध्ये दुई नाबालकलाई भने बाल सुधारगृहमा पठाउन यसअघि नै अदालतले आदेश दिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV