१० असार २०७७, बुधबार
  • रामगोपाल तमुख

भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाको सातौं नगर सभामा २०७७/०७८ को लागि १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश भएको छ । उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेटमा चालु खर्चतर्फ रु ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पूँजिगत तर्फ ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ ।

नगरपालिकाले यो बर्ष ठूलो बजेट र बहुवर्षीय योजनालाई भन्दा एकै बर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त हुने योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । यसैबीच कोभिड १९ (कोरोना भाइरस) संक्रमणको विषम परिस्थितिमा भक्तपुर नगरपालिकाका कर्मचारीहरुले १ करोड २६ लाख बराबरको बिभिन्न सुबिधाहरु नलिने घोषणा गरेको छ ।

भक्तपुर नगरपालिकाले कार्मचारीहरुलाई चालु आर्थिक बर्षमा दिईदै आएको खाजा भत्ता र पोशाक भत्ता वापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्य नजर गरी नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाई समितिले नलिने निर्णय गरेको उपप्रमुख रजनी जोशीले बताउनु भयोे । यसबाट नगरपालिकाको चालु खर्चमा रु १ करोड २६ लाख रुपैयाँ बचत हुने उपप्रमुख जोशीले बताउनु भयो ।

त्यस्तै नगरपालिकाका जनप्रतिनिधिहरुले पनि कोभिड १९ (कोरोना भाइरस) संक्रमणको विषम परिस्थितिमा यो आर्थिक बर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने जनाएको छ । देशभित्रको विभिन्न जिल्लामा भ्रमण गरिंदाको भ्रमण भत्ता तथा समितिहरुको बैठक भत्ता आधा घटाई नगरपालिकाको चालु खर्चलाई मितव्ययी बनाउने प्रयास गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV