१० असार २०७७, बुधबार
  • रबिना बोहरा

बागलुङ, १० असार । पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा दलित समुदायले विरोध ¥याली निकालेका छन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको बिरोध र्याली समिक्षालय चोकबाट सुरु भएर लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


पश्चिम रुकुमको चौरजहारी नरसंहारका दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै बागलुङका दलित समुदायले बिरोध गरेको जनाएको छ । आफ्नी प्रेमिकासँग विवाह गर्न भन्दै केही साथीसहित रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विश्वकर्माको मृत्यु भएको खबर आएपछि अहिले सदनदेखि सडकसम्म आवाज उठेका छन् ।

कथित माथिल्लो जातकी एकजना किशोरीसँग प्रेम सम्बन्धमा रहेका विश्वकर्मासहित उनका साथीमाथि ’हमला गरी हत्या गरिएको’ दलित अधिकारकर्मीहरूले आरोप लगाएका छन्। जातीय विभेद अन्त्य गर, जातिय विभेद कहिल सम्म ? दलितका लागि सरकार कहाँ छ ?, मानिस भएर बाच्न देउ, पोसमार्टम रिपोर्ट गलत बनाउने डा।लाई कारबाही होस्, लगायतका पम्प्लेट सहित दलित अधिकारकर्मीहरुले बजार परिक्रमा गरेका थिए ।

कानून नै बनाएर नेपालमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको तथा देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको भए पनि व्यवहारमा भने जातीय विभेद कायमै रहेको दलित अधिकारकर्मी टिकाकुमारी विश्वकर्माले बताउनुभयो ।

सार्वजनिक स्थलमा हुने छुवाछुतमा केही कमी आए पनि विवाह र प्रेम सम्बन्धलाई लिएर ज्यानै लिनेसम्मका घटनाहरूमा भने कमी नआएको भन्दै दलित अधिकारकर्मीहरुले कोणसभामा आ—आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV