१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु नै गल्ती भएको बताउनुभएको छ ।

बुधबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताउनुभएको हो ।

उहाँले घुमाउरो पारामा ओली समक्ष पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न प्रस्ताव पनि गर्नुभएको छ । पार्टी र सरकार संकटमा रहेको बताउँदै अध्यक्ष दाहालले संघर्ष गरेर फुटको बाटो नभई एकता गरेर जानुपर्ने बताउनुभएको छ ।

जसको लागि आफूहरुले त्याग्न तयार हुनुपर्ने उहाँको भनाइ छ । २०७६ मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति भएको थियो ।

तर, उक्त सहमति अनुसार दाहालले कार्यकारी भूमिका नपाएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । त्यसोत, केही समय अगाडि दाहाललगायतका नेताले सचिवालय बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

यसैक्रममा अध्यक्ष दाहालले पार्टी र सरकार कमजोर हुनुमा बाहिरी वा देश भित्रका प्रतिक्रियावादीलाई दोष दिएर नहुने बताउनुभएको छ । जसको पार्टीमै छलफल हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV