१० असार २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १० असार । क्वारेन्टाइनमा रहेका एक किशोरको प्रादेशिक अस्पताल जनकपुरमा मृ’त्यु भएको छ । मृत्यूपछि उनको मृ’त्युको अनुसन्धानको माग गरिएको छ ।

भारतबाट आएका एक किशोरलाई धनुषाको हंसपुर नगरपालिकास्थित क्वारेन्टाइनमा भर्ना गरिएको थियो । उनलाई कोरोना भन्दा पनि अन्य रोगकै कारण मृत्युशैय्यामा पुगेपछि अन्तिम अवस्थामा प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर अस्पतालले समेत कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि उनको मृत्यु भएको थियो ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित प्रसाही बस्ने १५ बर्षीय राजु सदाको झाडापखालाकै कारण मृत्यु भएको मृतककी आमा निलम देवी सदाले बताइन् ।

दलित समुदायका राजुको आर्थिक अवस्था दयनीय भएकै कारण उनी भारतको मद्रासमा मजदुरी गर्दै घरपरिवार समेतको गुजारा चलाउदैँ आएका थिए । तर विश्वव्यापी महामारीको कारणले गर्दा रोजगारी समेत गुमेपछि उनी भारतबाट भोकभोकै जसोतसो स्वदेश आइपुगे ।

स्वदेशमा आउँदा उनलाई गाउँ स्थित क्वारेन्टाइनमा जेठ १४ गते भर्ना गरिएको थियो । क्वारेन्टाइनमा भर्ना भएदेखि नै उनलाई झाडापखालाले सताएको थियो । तर समयमा कसैले वास्ता भने गरेनन् ।

लामो समयसम्म झाडापखालाका कारण शरीर शिथिल हुदैँ गएको र अस्पतालको लापरवाहीको कारण मृत्यू हुनपुगेको आमा निलम देवीको आरोप छ ।

राजुको शरीर निकै कमजोर हुदै गएपछि ति किशोरलाई ढिलो गरी उपचार गर्नका लागि हंसपुर नगरपालिकाले भेदभावपूर्ण तरिकाले ट्रिपरमा राखेर प्रादेशिक अस्पताल जनकपुर ल्याएको निलमले बताईन् ।

राजुलाई प्रादेशिक अस्पतालमा ल्याएपनि उनको स्वास्थप्रति कसैले पनि वास्ता नगरेको गुनासो आमा निलमको गुनासो छ । राजुकी आमाले आफुहरु दलित र गरीब भएकै कारणले आफ्नो छोरालाई उपचारमा वेवास्था गरेर मारेको आरोप समेत लगाईन् ।

यता प्रादेशिक अस्पताल जनकपुरका डा।कुलदीप पण्डितले अस्पतालमा आएपछि उनको झाडापखाला केहि दिनमै निको भएको बताउनु भयो । उहाँले मृतक राजुको पीसिआर रिपोर्ट नेगेटिभ रहेकोले कोरोनाको कारण उनको मृत्यू नभएको प्रष्ट पार्नुभयो ।

यता राजुकी आमा निलम देवीले पत्रकार सम्मेलन गरेर कोरोना रिपोर्ट नेगेटिभ आएपनि राजु सदाको मृत्युको घटनाको अनुसन्धान हुनुपर्ने, प्रादेशिक अस्पतालका मेसु, अस्पताल प्रशासन र आइसोलेसनसहित ईमरजेन्सीका जिम्मेवार व्यक्ति माथि कारवाही हुनुपर्ने, हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित नौहाप्रसाही क्वारेन्टाइनका व्यवस्थापक माथि कारवाही हुनुपर्ने र परिवारलाई अविलम्ब राहत व्यवस्था गर्न माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV