१० असार २०७७, बुधबार
  • आशिष केसी,

सल्यान, १० असार । सल्यानको शारदा नगरपालिकाको सातौ नगरसभा बुधबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि कुल ४९ करोड ९९ लाख १२ हजार रुपैयाँ बजेट प्रस्तावसहित सातौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख सुरेश अधिकारीले नगरपालिकाको मुहार समृद्ध बनाउनका लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको जानकारी दिए ।

नगर प्रमुख अधिकारीले कोरोना महामारी समुदायमा फैलिन नदिन शारदा नगरवासीको सु–स्वास्थ्यलाई ध्यानमा राखेर उक्त प्रकोपको नियन्त्रणको ब्यवस्थापन गर्ने पक्षलाई प्राथामिकतामा राखिएको बताए ।

समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरबासी भन्ने मुल लक्ष्यका साथ बजेट आएको नगरप्रमुख अधिकारी जानकारी दिए ।

नगरपालिकाले २०७७÷०७८ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण १२ करोड ८४ लाख, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट ९ करोड २८ लाख र संघीय ससर्त अनुदान र आन्तरिक श्रोत गरी २७ करोड ८६ लाख रुपैयाँको बजेट शारदा नगरपालिकाको उपप्रमुख सावित्रा बस्नेतले प्रस्तुत गरिन् ।

नगरपालिका उपप्रमुख साबित्रा बस्नेतद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ‘नगरलाई समृद्ध स्वच्छ र सुरक्षित बनाउदै भ्रष्टचारमुक्त शारदा नगरपालिका बनाउने लक्ष्यका साथ नगरपालिकाको आर्थिक सामाजिक विकासलाई अघि बढाउन आन्तरिक स्रोत परिचालन, नगरवासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य शिक्षाको प्रत्याभूति, स्वच्छ खानेपानीलगायतका कार्यक्रमहरुलाई अगाडि बढाइएको बताइन् ।

नगरपालिकाले यस आर्थिक वर्षमा सबै भन्दा बढी स्वास्थ्यमा २ करोड, पूर्वाधारमा २ करोड, कृषिमा १ करोड ५० लाख, शिक्षामा १ करोड ५० लाख छुटयाएको छ । त्यस्तै, श्रीनगर आधुनिक बसपार्कको लािी ५० लाख पनि छुटयाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV