४ नगरपालिकाले एसी र सीसी क्यामेरासहितकाे सुविधासम्पन्न आइसोलेसन बनायाे, संक्रमित राख्न सुरु



प्रकाशित मिति : Jun 24, 2020
  • बालबिक्रम कार्की

रौतहट, १० असार । बढ्दो संक्रमितका कारण कारोनाको केन्द्र बनिरहेको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ को शहीद स्मृति पार्कमा निर्माण सम्पन्न भएको आइसोलेसनमा कोरोना संक्रमितहरु राख्न सुरु गरिएको छ ।

जिल्लाका उत्तरी भेगमा रहेका चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाको ७० लाखको संयुक्त लगानीमा बनेको सो आइसोलेसनमा हाल दुई महिला सहित ३२ जना संक्रमित राखिएको छ ।

सो आइसोलेसन निमार्णको लागि चन्द्रपुर नगरपालिकाले २५ लाख, र अन्य तीन नगरपालिकाको १५/१५ लाख लगानी गरेका छन् । यसअघि चन्द्रपुर ६ मा रहेको एन्फा महिला एकेडेमीको भवनमा रहेको अस्थायी आइसोलेनमा रहेका उनीहरुलाई मंगलबारदेखि उक्त आइसोलेसनमा सारिएको हो ।

आइसोलेसनको जिम्मेवारी नेपाली सेनाले लियो

हाल ४० वेड क्षमताको रहेको सो आइसोलेसनमा चार खण्ड रहेका छन् भने महिला तथा पुरुष संक्रमित राख्नका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् । स्वास्थ्यकर्मीको टिम २४ सै घण्टा रहने सो आइसोलेसनको सुरक्षाको जिम्मा भने नेपाली सेनाले लिएको छ ।

प्रत्येक कोठामा एसी तथा सीसीटिभी क्यामेरा रहेको सो आइसोलेनमा बस्नेहरुको प्रत्यक्ष निगरानी स्वास्थकर्मीले मोनिटर मार्फत गर्ने व्यवस्था मिलाइएको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब चेतनाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार सो आइसोलेसनमा प्रत्येक संक्रमितहरुलाई प्रयोग गर्नका लागि छुट्टाछुट्टै व्यक्तिगत सामग्री तथा दुईजना बराबर एक शौचालयको व्यवस्था मिलाइएको छ । यसमा उपचार गर्ने संक्रमितहरुलाई गुणस्तरीय तथा पौष्टिक खानाको उपलब्धता गराउनेमा तयारी पनि भइसकेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला संक्रमितहरुलाई राख्नका लागि आइसोलेसनको राम्रो व्यवस्था नभइरहेको अवस्थामा यी चारवटा नगरपालिकाका प्रयासलाई प्रशंसनीय भएको नेकपा जिल्ला इन्चार्ज युवराज भट्टराई ‘समिर’ ले बताउनुभयो । उहाँले यसको निमार्ण पश्चात यी चारवटा नगरपालिकाका कोरोना संक्रमितहरुले सुरक्षित र सुविधायुक्त आइसोलेसनमा उपचार पाउने भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रदेश २ कै उत्कृष्ट आइसोलेसन भएको दावी

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले सुविधाको हिसाबमा सो आइसोलेसन प्रदेश नम्बर २ कै उत्कृष्ट आइसोलेसन रहेको दावी गर्दै निमार्ण तथा सञ्चालनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले रौतहट जिल्लामा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमित आफ्ना नागरिकको सहज उपचार होस् भन्ने उद्धेश्यले सो आइसोलेसन निर्माण गरिएको जनाउँदै यसमा उपचार गर्ने संक्रमितहरुलाई प्रदान गर्ने सुविधामा कुनै कमीकमजोरी हुन नदिन आफुहरु सचेत रहेकको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा मंगलबारसम्म १ हजार २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भइसकेको । यो संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।

जिल्लाका विभिन्न आइसोलेसनमा हाल कोरोना संक्रमित २९ महिला र ५ सय पुरुषको उपचार भइरहेको छ भने ४९६ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com