राष्ट्रपति भण्डारीले आज साँझ प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग छलफल गर्दै



प्रकाशित मिति : Jun 24, 2020

काठमाडाैं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहितका उच्च पदस्थ व्यक्तिलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहितलाई बोलाउनु भएको छ ।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई पनि निम्ता गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । यस्तै संवैधानिक निकायमा प्रमुखलाई समेत निमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीन/चार महिना नै भेट भएको थिएन ’’, अधिकारी भन्नुभयो, ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com