१० असार २०७७, बुधबार

एजेन्सी, १० असार । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई संघर्षपूर्ण जित दिलाउनकाे लागि इभान राकिटिचले गाेल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गरेका थिए । राकिटिच वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

बार्सिलोनाले खेलभर दबाब बनाएपनि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७१ औं मिनेटमा राकीटिचले गोल गर्दै अग्रता दिलाएका थिए । कप्तान लियोनल मेस्सीले गरेको प्रहार एथ्लेटिकका डिफेन्डरलाई लाग्दै फर्किएको बलमा राकीटिचले गोल गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा उक्लिएकाे छ । दोस्रो स्थानको रियल मड्रिडलाई तीन अंकले पछि पारेको छ । बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोड्दा एक खेल कम खेलेको मड्रिडको ६५ अंक रहेको छ । रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित दर्ता गरे शीर्षस्थानमा उक्लनेछ । यता पराजित बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV