१० असार २०७७, बुधबार

पोखरा, १० असार । फेवातालपारि पर्यटकीय क्षेत्र पञ्चासे डाँडा जाने बाटैमा पर्ने सिधाने गाउँमा यतिबेला खेतीपातीको चहलपहल निकै बढेको छ । पर्यटक मार्गको रूपमा चिनिएको सिधानेमा यसअघि रैथाने बूढाबूढी बाहेकलाई पाखाबारी गोडमेलमा देख्न कठिन नै थियो । अहिले दुई तीन महिनाभित्रमा त्यहाँको दैनिकी र स्वरूप धेरै परिवर्तन भइसकेको छ । युवासमेत खेतीमा व्यस्त रहन थालेका छन् ।

वर्षे सिजनको नियमित अन्नबाली मकै, धान लगायतका काम त छँदैछ, गाउँमा कहीँ कुखुरापालन, बाख्रापालनका लागि खोर बन(ाइरहेको भेटिन्छन् त कहीँ तरकारीका लागि टनेल निर्माण गरेर बाली सुरु गरिसकेको भेटिन्छ । त्यहाँको मुख्य बेँसीक्षेत्र, पोखराको लेकसाइड, खपौंदी, पामे, बिरौटा लगायतका क्षेत्रमा व्यवसायका क्रममा बसाइँ सरी आएका स्थानीय धमाधम गाउँ फर्किन थालेपछि सिधानेको दैनिकी परिवर्तन भएको हो ।

सिधाने, एक उदाहरण हो । यतिबेला पोखराका धेरै ग्रामीण क्षेत्रमा खेतीको उर्वर माहोल छ । कोरोना महामारी तथा बन्दाबन्दीले जीवनयापन र व्यवसाय निरन्तरतामा अप्ठ्यारो परेको भन्दै उनीहरू गाउँ फर्किएका हुन् । अहिले उनीहरू वर्षौंदेखि बाँझो रहेका जग्गाजमिन उपयोग गरिरहेका छन् ।

सिधानेकै बासिन्दा पोखराका व्यावसायिक प्याराग्लाइडिङ पाइलट सविन गुरुङ, उनीहरूमध्येका एक हुनुहुन्छ । सिधानेमा रहेको करिब ४० रोपनी आफ्नो पुख्र्यौली पाखोबारी उपयोग गर्न परिवारसहित उहाँ गाउँ फर्कनुभएको छ । ३६ वर्षीय गुरुङ भन्नुहुन्छ, ‘‘नेपालीको रैथाने दक्षता अप्ठ्यारो परेको बेला नै काम आउने रहेछ ।’’ आफूलाई संसार देखाउन पिता पुर्खाले पसिना बगाएको माटोमा ‘सुन’ फलाउन सकिने आशा छ उहाँलाई ।

बन्दाबन्दीको करिब १५ दिनपछि गाउँ फर्कनुभएका प्याराग्लाइडिङ पाइलट गुरुङले अहिले करिब पाँच सय कुखुरा अट्ने र ३० वटा बाख्रा अट्ने फार्म निर्माण गरिसक्नुभएको छ भने एक सय कुखुरा पाल्न सुरु गरिसक्नुभएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV