९ असार २०७७, मंगलवार
  • दिलिप कुमार सहनी,

सिरहा, ९ असार । तस्करीमा संलग्न एक जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर कोरेन्टाइनमा राखेको छ ।

प्रहरीले सिरहाको सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माडर नाका तर्फको चोरबाटोबाट भन्सार छलीका सामग्रीसहित एक जनालाई नियन्त्रणमा लिएर कोरेन्टाइनमा पठाएको हो ।

सिरहा नगरपालिका–१४ का २१ वर्षीय मोहम्मद इम्तियाज राइनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेले भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको कारण नेपालमा पनि उक्त महामारी नफैलियोस भन्ने उद्देश्यका साथ नेपाल-भारत आवत जावतमा पूर्ण कडाई गरिएको जानकारी गराए ।

यसै सिलसिलामा तस्करीमा संलग्न राइनलाई पनि नियन्त्रणमा लिएर कोरेन्टाइनमा राखिएको हो । प्रहरी नियन्त्रणमा परेका राइनले भारतबाट सिरहा नगरपालिका-१७ स्थित कमला खोलाको चोरबाटो हुँदै पम्पसेटको (बोर्डिङ) चार थान पिस्टन लिएर नेपाल प्रवेश गरेका थिए ।

उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको मातहात अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सोमबार नियन्त्रणमा लिएर सिरहाको माडर भन्सारमा बुझाएको थियो ।

७ हजार धरौटी राखेर तारेखमा छुटेका राइनलाई माडरस्थित कोरेन्टाइनमा राखिएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV