९ असार २०७७, मंगलवार

नयाँदिल्ली, ९ असार । आफ्ना छिमेकी मुलुकहरुसंग सम्बन्ध विग्रदै गएको भारतको चीर शत्रु मुलुक पाकिस्तानसंगको सम्बन्धमा थप चिसोपना आएको छ ।

 

भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगलाई कर्मचारीको संख्या ५० प्रतिशत कम गर्न आदेश दिएको छ । यही सिलसिलामा भारतले पनि इस्लामावादमा आएको आफ्नो उच्चायोगबाट पनि सोही दरमा कर्मचारी संख्या घटाउने बताएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै यसबारेमा जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार भातरले मंगलबार पाकिस्तानी उच्चायोगका चार्ज डि अफियर्सलाई बोलाएर पाकिस्तानी उच्चायोगमा रहेको अधिकारीहरुको गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतले पाकिस्तानी उच्चायोगका अधिकारीहरु जासुसी र चरमपन्थी संगठनका मानिसहरुसंग साँठगाँठ गर्ने जस्ता गतिविधिमा संलग्न भएको आरोप पनि लगाएको छ ।

पाकिस्तानका उच्चायोगका दुई अधिकारीहरु ३१ मे २०२० मा जासुसी गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए र उनीहरुलाई भारत छोड्ने आदेश दिइएको पनि भारतको दाबी छ ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानका अधिकारीहरुको यो व्यवहार भियना सन्धि विपरीत रहेको र दुई देशबीचको कुटनीतिक र कन्सुलर अधिकारीका व्यवहारलाई लिएर दुईतर्फीरुपमा गरिएको सम्झौता विपरीत भएको पनि जनाएको छ ।

भारतले पाकिस्तानलाई उच्चायोगबाट कर्मचारी कटौती गर्नका लागि सात दिनको समय दिएको छ । केही दिन अघि इस्लामावादस्थित भारतीय उच्चायोगका दुई अधिकारीलाई पाकिस्तान पुलिसको हिरासतमा लिइएको थियो र केही घण्टा पछि उनीहरुलाई रिहा गरिएको थियो ।

पक्राउ परेका भारतीय अधिकारीहरुले नक्कली नोट बोकेको कारण हिरासतमा लिइएको पाकिस्तानी पुलिसको दावी थियो । तर भारतले भने पाकिस्तानी पुलिसले आफ्ना अधिकारीहरुलाई नाकमा बन्दूक ताकेर पक्राउ गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV