९ असार २०७७, मंगलवार

काठमाडौं, ७ असार । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई झन्डै २ वर्ष लगाएर प्रतिवेदन तयार पारेको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा समिति सभापति शशी श्रेष्ठले पेश गर्नुभएको हो ।

प्रतिनिधिसभाको २०७५ साल भदौ ४ गतेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि राज्यव्यवस्था समितिमा पठाएको थियो ।

प्रतिनिधिसभामा नागरिकता विधेयकको प्रतिवेदन पेस गर्दै सभापति श्रेष्ठले विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र अन्तिम समयसम्मको अधिकतम प्रयासबाट पनि सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित गरिएको बताउनुभयो ।

नेपाली नागरिकले नागरिकता प्राप्तिबाट बञ्चित नहुने र गैर नेपालीले नेपाली नागरिकता प्राप्त गर्न नसक्ने उद्देश्यसहित समितिले छलफल गरेर विधेयक पारित गरेको बताउनुभयो ।

१४ वटा दफा रहेको विधेयकमा २३ वटा दर्ता समूहका ५४ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । २०७५ असोज १९ गते देखि २०७७ असार ७ गतेसम्म समितिले ३४ वटा बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गरेको थियो ।

अब विधेयकको प्रतिवेदनमा गरिएका व्यवस्थामाथि अब प्रतिनिधिसभामा छलफल हुनेछ । त्यहाँबाट पारित भएपछि राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नागरिकता सम्बन्धि नयाँ व्यवस्था कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV