९ असार २०७७, मंगलवार

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले विगतमा भारतसँगको कूटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरू आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘छिमेकी राष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ट छ । हाम्रो र छिमेकका सरकारहरुबीच द्वीपक्षीय कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहाद्र्धताको सीमा पर्वाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरको दल र नेताहरु विगतमा आलोचित रहे ।’

उहाँले थप्नुभयो, ‘वर्तमानमा उत्तरको छिमेकको दलले नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा, सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’

यसैक्रम उहाँले कोरोना कहरमै रोकिएको प्रधानमन्त्रीका लागि फोरजी सुरक्षासहितएको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढाइएको समाचार साँचो हो ? भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीका लागि फोरजी सुरक्षासहितएको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोना कहरमा फागुनदेखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले खरिद प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिक आयो ।’

उहाँले फेरि भन्नुभयो, ‘माननीय गृहमन्त्री ! के यो साँचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्न नपाइएला भन्ने डरले उल्फाको धनझैं फजूल खर्च गर्ने सरकारी तयारी हो यो ? जवाफ पाउँ ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV