९ असार २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, ९ असार । प्रदेश १ सरकारले अस्पतालको नाम परिवर्तन गर्ने भएपछि मोरङ उर्लाबारी नगरपालिका मंगलबारेमा रहेको मंगलबारे ट्रमा अस्पतालमा स्थानीयहरुले विरोध गरिरहेका छन् ।

प्रदेश सरकारले मंगलबारे ट्रमा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने भनेपछि स्थानीयहरूले अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै २० औं दिनदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले विभिन्न आन्दोलन गर्दै सोमबारदेखि रिले अनसन थालेका छन् ।

प्रदर्शनकारीले प्रदेश सरकारले अस्पतालको नामलाई राजनीतिककरण गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले प्रदेश सरकारले स्थानीय तहसँग नाम परिवर्तन सम्बन्धमा कुनै छलफल नगरी नाम परिवतर्न गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले अस्पताललाई स्तरोन्नति गर्ने बहानामा नाम परिवर्तन गर्दा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटिने भएकाले आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

स्थानीयले अस्पतालका नाम परिवर्तन गर्नुभन्दा उर्लाबारीभित्रै अर्को स्थानमा नयाँ अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् । प्रदेश सरकारले पालिकासँग यस विषयमा कुनै समन्वय सुझाव नलिएको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मदेवि भण्डारीले जानकारी दिनु भएको छ । उहाँले मदन भण्डारी स्मृति प्रतिष्ठानको ठूलो क्षेत्रफल राजमार्गको दक्षिणतर्फ रहेको र त्यहाँ अस्पताल बनाउन नाम राख्नुपर्ने अवस्था रहेको भन्दै नामको विषयमा राजनीति नगर्न आग्रह समेत गर्नुभयो ।

२०४९ मा स्थापित भएको १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नती सहित प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेको छ । यो ट्रमा सेन्टरका लागि गत आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरको आवश्यक उपकरणसमेत खरिद भइसकेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV