९ असार २०७७, मंगलवार

जनकपुरधाम, असार ९ ।  जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको बिरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरुले वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ ।

नगरसभा जसरी पनि सञ्चालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ । नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने कार्य भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकारी दिएका छन् ।

यता नगरसभा सञ्चालन गर्न नदिने पक्षमा पनि वडाध्यक्षहरुले हस्ताक्षर अभियान चलाएका छन् । उनीहरुको पक्षमा उपमहानगरपालिकाका ७४ जना वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुले हस्ताक्षर गरेका छन् । कुल १ सय ३३ सदस्यमध्ये ७४ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन् ।

यता वडा नम्बर ३ का वडाध्यक्ष साह नगरसभाको पक्षमा कस कसले हस्ताक्षर गरेको छ भनेर बुझ्न खोज्दा नगरपालिकाका कर्मचारी नसिम राइनले सो हस्ताक्षर गरिएको कागज नै च्याएतेका छन् । उनले मेयर लालकिशोर साहको ईशारामा फर्जी हस्ताक्षर गराइएकोले चोरी बाहिर निस्किने डरले सो कागज च्यातेका हुन् । बहुमत सदस्य नगरसभाको विरुद्धमा लागेपछि मेयर साहलाई नगरसभा संचालन गर्न हम्मे-हम्मे परिरहेको छ ।

यता वडाध्यक्षहरुले नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे आफूहरुलाई केही जानकारी नगराइएको भन्दै धर्नालाई निरन्तरता दिनुका साथै हस्ताक्षर अभियानलाई समेत जारी राखेका छन् ।

जनकपुरधाम उउपमहानगरपालिकाको नगरसभा असार ९ र १० गते गर्ने यसअघि नै तय गरिएको थियो । साढे ८ बजेदेखि नगरसभा संचालन गरिने भनिए पनि अहिलेसम्म नगरसभा बहुमत सदस्यहरुको विरोधका कारण शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV