९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस विजयी भएको छ । बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्टस २-० गोलले विजयी भएको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पहुना टोलीलाई अग्रता दिलाए ।

स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगले पेनाल्टी दिएका थिए ।

खेलको ३६ औं मिनेटमा अर्जेन्टिनि स्ट्राइकर डिबालाले गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई २-० को अग्रत दिलाए । दोस्रो हाफमा गोल गर्न नसकेको युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।

खेलको इन्जुरी समयमा डिफेन्डर डानिलोले दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए पछि युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजिओभन्दा चार अंकको अग्रता बनाएको छ । युभेन्टस २७ खेलबाट ६६ अंकसहित शिर्ष स्थानमा छ । पराजित बोलोग्ना भने समान खेलबाट ३४ अंकसहित दसौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV