९ असार २०७७, मंगलवार
  • शीतल भट्ट

कञ्चनपुर, ९ असार । चामल काण्ड, टेण्डर काण्डदेखि लिएर बेलाबेलामा अन्य काण्डैकाण्डले चर्चा बटुलिरहेकाे कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा फेरि अर्को असारे बजेट झ्वाम पार्ने काण्डका रुपमा नाङ्गो ब्रम्हलुटको बिजारोपण भएको छ ।

पिछडिएको क्षेत्रको विकासका लागि जनप्रतिनिधि र कर्मचारीलाई बेलडाँडीकाे विकास र समृद्धिकाे सपना चिन्ता र चासोभन्दा पनि कताबाट हुन्छ रकमको खाँचोतिर मात्रै ध्यान पुर्‍याउने प्रवृत्ति देखिन्छ । यसले गर्दा आज फेरि बेलडाँडी गाउँपालिकाले कहिले बसपार्क र कहिले खेलमैदान भन्दै एउटै स्थानमा फरक-फरक योजना पारेर ब्रम्हलुट गरेकाे खुलासा भएकाे छ ।

तीन वर्षअघि (आर्थिक वर्ष २०७३/०७४) बेलडाँडीमा सार्वजनिक जमिनमा बसपार्क निर्माणका लागि स्थान छनौट गर्न झन्डै पाैने कराेडकाे योजना अघि सारियो । त्यतिबेला पनि भित्रका कर्मचारीले उक्त याेजनामा लाखौँ रकम कमिसन खाएर जनताको करबाट उठेको रकममा रजाइँ गरेकाे स्थानीयकाे दाबी छ।

कमिसन नै कमिसनको चक्करमा कर्मचारीले अधुरै छाडेको योजनामा जनप्रतिनिधिले अघि बढाउलान् भन्ने आशामा रहेका जनतालाई जनप्रतिनिधि पनि बजेट कुम्ल्याउनमै उद्यत भएपछि निराशा मात्रै हात लागेकाे छ ।

‘हामी यहाँ बसपार्क बन्ने सोचेका थियौँ,’ बेलडाँडीका स्थानीय कुलैराज उपाध्यायले भने, ‘बजेट कुम्ल्याउन कहिले बसपार्क त कहिले खेलकुद मैदान अनि फेरि अन्ततः बसपार्क, याे के नाैटंकी हाे ।’ सबे पालिकाले रकम स्वाहा: पार्ने मेलाेमेसाे मात्रै बनाएको उनले जिकिर गरे ।

अख्तियारले सुनाएकाे कहानी 

यतिखेर बेलडाँडीकाे हालत देख्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुनाउँदै आएको एउट कहानी स्मरण भइरहेछ । ‘कुनै कार्यालयमा हाकिमले कार्यालय परिसरमा पोखरी खनेर माछा पालनका लागि बजेट माग्छन् । पछि पोखरीमा माछा पाल्दैनन् । अनि बालबालिका पोखरीमा डुब्न थाले भन्दै फेरि बजेट मागेर पोखरी पुर्नका लागि रकम  कुम्ल्याउने दुष्कर्म गर्छन् ।’ हाे यस्तै भएकाे छ बेलडाँडीमा, कहिले बसपार्क कहिले खेलमैदान काण्ड मच्चिएको छ ।

बसपार्कका रुपमा अघि सारिएको योजना अहिले २० लाख बजेटमा खेलकुद मैदानका नाममा स्वाहा पार्ने खेल भइरहेको स्थानीयको राजनीतिक दलका नेताहरूकाे समेत आरोप छ । जनप्रतिनिधि र कर्मचारीले पुर्ववत योजनामै अर्को योजना राखेर बजेट सक्ने उपाय निकालेको उनीहरुको ठहर छ ।

के भन्छन् स्थानीय नेता र जनप्रतिनिधि ?

नेकपाकाे बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल बिष्टले गाउँपालिकाले वास्तवमै कमी-कमजोरी गरेको स्वीकारे । तर पनि उनी भन्छन्-  ‘जनप्रतिनिधिले भ्रष्टाचार गरेको त लाग्दैन, काम गर्दा तलमाथि भएको हुन सक्छ तर विकास जनताको पक्षमा हुनुपर्छ ।’

यस्तै, नेपाली काँग्रेस बेलडाँडी गाउँपालिका सभापति हर्कदेव जोशीले वडाध्यक्ष र प्राविधिक कर्मचारीले मनमर्जी आफै याेजना छनौट गरेर गर्ने प्रवृत्ति हाबी हुँदा यस्तो भइरहेको बताए । उनले उक्त योजना तत्काल रोक्ने समेत बताए ।

बेलडाँडी गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले यसअघि बसपार्क र अहिले खेलकुद मैदान निर्माण भइरहेको बताए । तर खेलमैदान निर्माण कार्यमा विराेध आएपछि पुनः अब त्यही बसपार्क नै कायम गर्ने स्थानीय बुद्धिजीवी र सराेकारवालाहरुसंग आपसी समझदारी भएको पनि उनले बताए । उनले चवन्नीको पछाडिपट्टि ठाँउ नपुग्ने भएकाले वडाध्यक्षले प्रस्ताव गरेअनुरुप कार्यपालिकाले निर्णय नै गरेर काम भइरहेको स्वीकारे । ‘तर अब फेरि बसपार्क नै हुन्छ,’ उनले भने ।

यसरी एउटै ठाँउमा फरक-फरक नाउँमा बजेट हालेर राज्यको रकम दुरुपयोग गरेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । विगतमा बसपार्कका नाममा झन्डै पाैने करोडकाे लागतमा बनेकाे संरचना ताेडफाेड गरी साेही ठाउँमा खेलमैदानका नाममा पुनः २० लाख खन्याउनु र अहिले आएर फेरि बसपार्क नै कायम गर्छाैँ भन्नुले यतिबेला बेलडाँडी गाउँपालिकाकाे नियतमा नै प्रश्न उठेको छ !

यता गाउँपालिका अध्यक्ष धन बहादुर थापाले जनप्रतिनिधि आउनुभन्दा अघिकै योजना भएको बताए । ‘अहिले आए खेल मैदान भनियो,’ उनले भने, ‘बाँकी जे सहमति हुन्छ, त्यही गछौँ ।’ उनले जनभावना अनुरुप नै कार्य गर्ने छलफल भएको बताए ।

अख्तियारसँग छानबिनकाे माग

यसरी एकै स्थानमा विभिन्न योजना बनाएर बजेट स्वाहा पार्ने खेल भएको भन्दै स्थानीयले जनप्रतिनिधिको विरोध गरिरहेका छन् । स्थानीय जय ब कुँवरले भने, ‘बेलडाँडी गाउँपालिका विकासभन्दा पनि विवाद र विनाशतर्फ अघि बढिरहेको छ ।’

स्थानीय शिक्षक सचिन कठायतले गाउँपालिकाले यस्तो अपरिपक्व निर्णय गर्नै नहुने बताए । ‘जुन गरेको छ, सरासर गलत गरेको छ,’ उनले भने, ‘बसपार्क हाे र बसपार्क कायम गरेरै छाेड्ने छाैं ।’

कहिले खेल मैदान, कहिले बसपार्क अनेकाैँ नाम दिएर भ्रष्टाचारलाई संस्थागत गर्ने काम भइरहेको नेपाली काँग्रेस जिल्ला सदस्य जनक सिंह धामीकाे भनाइ छ । यसरी झाँगिरहेकाे कमिसन र भ्रष्टाचारको जालो तोड्न समेत उनले अख्तियारसँग माग गरेका छन् ।

बसपार्क निर्माण हुँदाका कार्यालय प्रमुख, लेखा प्रमुख र ईन्जिनियर सहित हाल भइरहेको अनियमिततामा संलग्नमाथि कार्बाही हुनुपर्ने स्थानीयले माग अघि सारेका छन् । विकास निर्माणका नाममा बच्चाले खेलाैनाकाे घर बनाएझैँ बनाउने र भत्काउने फेरि बनाउने र फेरि भत्काउनेजस्ता कार्य गरी बजेट झ्वाम पार्नु निन्दनीय भएको स्थानीय समाजसेवी एवम् बुद्धिजीवीहरुकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV