८ असार २०७७, सोमबार
  • केदार शर्मा,

चितवन, ८ असार । सिमसिम पानी परिरहेको छ । सँगै ढल निर्माणको कामपनि धमाधम गरिँदै छ । ढल निर्माणको लागि खनिएको खाल्डो हिलाम्मे छ ।

सोही हिलोमा बेस नराखी माथिबाट सिमेन्ट बालुवा गिट्टी घोलेर ढलान गरिदै छ । यो दृश्य हो, भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेस्थानमा निर्माण हुदै गरेको ढलको ।

आगामी असार २० गते सम्म निर्माणकार्य सम्पन्न गर्नु पर्ने र समयमा काम समपन्न नभए भुक्तानी नपाईने भन्दै उपभोत्ता समितिले रकम भुक्तानीको लागि हिलोमाथि नै पीच गरेको देखिन्छ । अरनिको मार्ग बाईपास रोड ढल निर्माण समितिले १२ लाख ४ हजार रकममा १ सय २० मिटर लामो ढल निर्माण गरेको हो ।

ढल निर्माण समितिका अध्यक्ष शालिग्राम सापकोटाले भने ईन्जिनियरले भनेकै आधारमा हिलोमाथि ढल बनाएकोे स्वीकार गरेका छन् । सापकोटाले पानी परेर तयार पारिएको ठाँउ पुरेकोले सोहि हिलोमाथि ढल गर्दा केहि नहुने कुरा ईन्जिनियरले भनेपछि हिलोमाथि ढलानको काम गरेको बताए । यसरी निर्माण गरिएको ढल एक देखि डेढ मिटर सम्म उचाईमा रहेको छ ।

असारबाट थालिएको काम अन्तिममा सक्नुपर्ने भएपछि निर्माणको जिम्मा लिएको समिति र प्राविधिकले गुणस्तरको ख्यालै नगरी काम सक्ने हतारो गरेका हुन् । सडकको नाली अव्यवस्थित छ, ६ देखि ८ ईन्चसम्मको ढल हुनु पर्ने भएपनि अहिले कुनै स्थानमा ३ ईन्च मात्रै रहेको उक्त काम गुणस्तरहीन रहेको स्थानीय देवानन्द पाठकले गुनासो गरे ।

उचाई धेरै छ, तर चौडा कम छ भोलिका दिनमा उक्त ढलमा कुनै दुर्घटना भएमापनि उद्धार गर्ने अवस्था छैन । ढलनिर्माणमा जनसहभागिता स्वरुप स्थानीयबाट प्रति मिटर ३ हजारको दरले रकम उठाईएको थियो भने अन्य रकम वडा तथा महानगरपालिकाको गरी १२ लाख ४ हजारमा उत्त ढल निर्माण हुन लागेको हो ।

यता भरतपुर महानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले भने आँफुले बुझने बताए ।

गुणस्तरको सबालमा कुनै किसिमले सम्झौता नहुने वडाध्यक्ष अधिकारीको भनाइ रहेको छ । अधिकारीले ढल नर्माणको भुक्तानी नदिएको भन्दै आँफुले प्राविधिकसँग बुझेरमात्रै भुक्तानीको प्रकिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV