कुशल डान्सर बनेर परिवार र समाजको नाम राख्न चाहन्छु : आकाश ठाकुर



प्रकाशित मिति : Jun 22, 2020
  • भगतराम थारु,

नेपालगन्ज, ८ असार । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोका आकाश ठाकुर नृत्यमा उत्कृष्ट छन् । पढाईसँगै नृत्यमा पनि अब्बल बन्दै गएका आकाश एकाएक चर्चामा आउन सफल भएका छन् ।

कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्ने सोचका साथ संघर्षरत आकाश आफू एक कुशल कलाकार बन्ने सोच रहेको बताउँछन् । राम्रो डान्सर र एक कुशल कलाकार बन्ने उनको सपना छ ।

शालीन स्वभावका आकाश सानै उमेरदेखि नृत्य गर्दथे । उनले भने, ‘नृत्य गरेरै करियर बनाएर स्थापित हुनेछु । यही क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रर्दशन गरेर आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु ।’

उनले थपे, ‘मानव जीवन भनेको संघर्ष हो । मेहनत र परिश्रम गर्दै जानुपर्छ । एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो ।’

फेरि उनले भने, ‘म नेपाली कला जगतमा केही गरेर देखाउन चाहन्छु । आफ्नो परिवार अनि समाजको नाम राख्न चाहन्छु ।’ नृत्यमा राम्रो क्षमता भएका आकाश अवसर पाएका धेरै ठाउँबाट उत्कृष्ट हुन सफल भएका छन् ।

नेपालगञ्जमा जन्मिएका १८ वर्षीय आकाश सानैदेखि नेपालगन्ज कारकादोस्थित सगरमाथा ई.मि. हाई स्कुलमा अध्ययनरत छन् । उनी अरुको नृत्य हेरेर रमाउने गर्दथे । विद्यालय स्तरबाटै नृत्य गर्न सुरु गरेका आकाश अहिले एक अब्बल डान्सरको रुपमा चिनिन थालेका छन् ।

आफूलाई विद्यालयकै डान्स शिक्षक नवराज सुवेदी गुरुले धेरै मेहनत गरेर सिकाएको गुण कहिल्यै नविर्सने आकाश बताउँछन् । बुबा प्रमोद ठाकुर र आमा रेखा ठाकुरको कोखबाट जन्मिएका आकाश सानैदेखि नृत्यमा रुची राख्दथे ।

स्कुलमा आयोजना हुने कार्यक्रमदेखि गाउँघरमा हुने कुनैपनि खालका स्टेज कार्यक्रममा आकाशको प्रस्तुति अनिवार्य हुने गर्छ । आकाशले धेरै डान्स शोहरुमा सहभागिता जनाएर राम्रो अनुभव बटुल्न मौका पाएका छन् ।

पोखरामा आयोजना भएको ‘नेपाल एवान स्टार’मा उनी टप १८ मा पर्न सफल भए । त्यतिखेर उनी देशभरका प्रतिस्पर्धीहरुलाई उछिन्दै टप १८ मा पुग्न सफल बनेका थिए ।

२०१९ मा नेपालगञ्जमा आयोजना भएको नेपालगञ्ज ट्यालेन्ट हन्ट–२०१९ मा उनी तेश्रो भएका थिए । त्यसअघि नेपालगञ्जमै आयोजना भएको उडान नेपाल कम्पिटिशनमा दोश्रो भएका थिए ।

आफूलाई निखार्नका लागि हिपपप, मोर्डन, कल्चरल देखि क्लासिकल र आधुनिक नृत्यमा अभ्यास गरिरहेको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com