८ असार २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ८ असार । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै घम्सा घम्सीको अवस्था सिर्जना भएको छ ।

नगरसभा नजिकिदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखको रबैयाप्रति बिरोध जनाएपछि घम्साघम्सी भएको हो ।

वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण तथा नीति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए । विवाद लम्बिदै जाँदा उपस्थित वडाध्यक्षहरु तयार पारिएको माइन्युट समेत च्यातेका छन् ।

बोर्ड बैठकमा उपस्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेको आरोप लगाए । बोर्ड बैठकमा जबरजस्ती प्रमुख साहले माइन्युटमा हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको वडाध्यक्ष जानकीरामले बताए ।

पालिकाको सभा सञ्चालन गर्न अगाडि पहिले नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनु पर्ने हुन्छ । नीति तथा कार्यक्रम पारित गराउनका लागि जनप्रतिनिधिहरुलाई कम्तिमा २४ घण्टा अगाडि उपलब्ध गराउनुपर्ने जनकपुरधाम उपमहानगरपालिकाले बनाएको बैठक सञ्चालन सम्बन्धी कार्यविधिको छलफलको विषय सम्बन्धी १२ नम्बर बुँदाको १ मा उल्लेख छ ।

तर अध्ययन गर्नका लागि नीति तथा कार्यक्रम नै नदिई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएकोमा वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले आपत्ति जनाए । उनले प्रमुख साहको रबैया नसच्चिए आफूहरु बैठक सञ्चालन हुन नदिने चेतावनी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुख साह अलोकतान्त्रिक विधि अपनाएर अगाडि बढ्न खोजेको आरोप लगाए । उनले भने ‘विगत ३ वर्षदेखि हामी उपमहानगरपालिकाको काम कारवाही पारदर्शी बनाउन माग गरिरहेका छौँ, तर प्रमुख साह मान्नु हुन्न ।‘

अगाडि भने ‘ मेयर साबलाई डर छ पारदर्शी विधि अपनाएँ भने आफूले विगत ३ वर्षदेखि गर्दै आएको भ्रष्टाचारको पोल खुल्ने छ ।’ उपमहानगरपालिकाका वडाध्यक्षहरु प्रत्येक वर्ष बजेट फ्रिज हुँदै आएकोप्रति समेत आपत्ति जनाए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कुल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अन्य रकम मेयर साहले भ्रष्टाचार गर्नकै लागि निजी श्रोतको रुपमा राखेको आरोप लगाए ।

उनले भने ‘ हामीले उठाउने गरेको राजश्वमा समेत भ्रष्टचार भई रहेको छ, मैले आफ्नो वडाबाट ९ लाख रुपैयाँ राजश्व उठाएर दिएको छु जबकि ४ लाख रुपैयाँ मात्रै हिसाबमा उल्लेख छ , यसले नै स्पष्ट हुन्छ मेयर साह कति भ्रष्ट र असफल छन भन्ने । ’

यता आफू मेयरको अलोकतान्त्रिक विधि बिरुद्ध आवाज उठाउँदा आफूलाई मेयरको लठैत कार्यपालिका सदस्यहरुले तछाड मछाड गरि धकेलेको वडा नम्बर १०का वडाध्यक्ष मिथिलेश कर्णले आरोप लगाए । उनले यहि शैली रह्यो भने बैठक संचालन गर्न नदिने अडान व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता मिश्र बैठक नै शुरु हुन नदिई वडा नम्बर ७को वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताइन् । उनले बैैठक शुरु हुने वित्तिकै सम्पूर्ण हरहिसाब वडाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेको बताउँदै भनिन् ‘ वडाध्यक्षहरुले देखाएको रबैया गलत हो ।’ उनले माइन्युट च्यात्ने वडाध्यक्षबिरुद्ध मुद्दा चलाउने तयारी समेत भई रहेको जानकारी दिइन् ।

विवाद पश्चात बैठक बस्न सकेको छैन । परिषदको समय एक दिन मात्र बांकी रहेको बेला यो विवादका कारण नगर परिषदको बैठक नै प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको छ । यस अघि नै उप महानगर पालिकाले असार ९ र १० गतेको लागि नगर परिषद गर्ने सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV