८ असार २०७७, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट, ८ असार । रौतहटको चन्द्रपुर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नेहरुको गुनासै गुनासा सुनिन थालिएको छ ।

सो नगरपालिकाले वडा नम्बर ६ स्थित जनज्योति माविमा सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नेहरुले आफुहरुले राम्रोसँग खाना पनि नपाएको र क्वारेन्टाइनमा सरसफाइको हालत एकदमै नराम्रो भएको गुनासो गरेका छन् । उनीहरुले आफुहरुले बारम्बार बस्ने कोठा र क्वारेन्टाइन क्षेत्र सरसफाइ गर्न आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरुले आफुहरुलाई राम्रोसँग व्यवहार नगरेको गुनासो गर्दै खाना पनि एकदमै गुणस्तरहिन खुवाएको बताएका छन् ।

यसरी क्वारेन्टाइटाइनमा बस्नुपरे आफुहरु कोरोना भन्दा पनि अन्य रोगले मरिने हो कि भन्ने चिन्ताले सताउन लागेको छ ।
सो क्वारेन्टाइन परिसर भित्र यसअघि बसेकाहरुले प्रयोग गरेका सामग्रीहरु यत्रतत्र छरिएका छन् भने फोहोरको थुप्रो जताजतै रहेका छन् । उनीहरुलाई सुत्नका लागि पनि खाटको व्यवस्था नरहेको र भुँइमै म्याट ओछ्याएर सुत्नुपर्ने वाध्यता रहेको छ । त्यसैगरी उनीहरुलाई झुलको पनि राम्रो व्यवस्था नभएकाले मच्छरले टोकेर हैरान पारेको बताउँछन् ।

‘हामी आफैँ सरसफाइ गर्छौ भन्दा पनि सामान पाएनौँ’ क्वारेन्टाइनमा बसेका एक युवकले भने , ‘न स्यानिटाइजर छ, न कोठा सफा गरिएको छ । जताततै फोहोर थुप्रिएको छ ।’ उनीहको दैनिक प्रयोगमा आउने साबुन, ब्रस, मन्जन आदि पनि व्यवस्था नगरिएको गुनासो छ ।

कुवेतबाट फर्किएकी एक महिलाले क्वारेन्टाइनको बसाइले आफुमा मानसिक तनावको बढेको भन्दै क्वारेन्टाइनको भद्रगोलले जन रोग थपिने डरभएको बताइन् । उनले हाल सो क्वारेन्टाइनमा ३ जना महिला रहेको जनाउँदै आफुहरु सुत्ने कोठामा चुकुलपनि नभएकाले असुरक्षित महसुस गरिरहेको गुनासो गर्दै शौचालयको पनि समस्या रहेको बताइन् ।

सो क्वारेन्टाइनमा भारत तथा अन्य तेस्रो मुलुकबाट आएका आफ्ना वडावासीलाई राख्न जाँदा जिम्मा लिने कोही नहुँदा घण्टौ गेटमा कुर्नुपर्ने वाध्यता रहेको वडाध्यक्षहरु नै बताउँछन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ्गले क्वारेन्टाइन व्यवस्थापन भनेर विभिन्न शीर्षकको रकम रकमान्तर गरेर डेढ करोड वजेट नगरपालिकाले छुट्याएपनि क्वारेन्टाइनको व्यवस्थापन भने निकै फितलो भएको गुनासो गरेका छन् ।

उनले आफु वडाध्यक्ष भएपनि अहिलेसम्म सो क्वारेन्टाइन कसले व्यवस्थापन गरेको छ भन्ने कुरानै थाहा नपाएको दुःखेसो गर्दै भारत तथा तेस्रो मुलुकबाट आउने आफ्ना वडाका नागरिकलाई क्वारेन्टाइनमा राख्न जाँदा कोहीँ पनि हुने नगरेको र उसले उसलाई देखाएर पन्छिने काम मात्र हुँदै आएको बताउँछन् ।

यता चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलसँग आफुहरुले एउटा क्वारेन्टाइन व्यवस्थापन समिति बनाएर जिम्मा दिएको र त्यसको हेर्ने सम्पूर्ण जिम्मा सो समितिलाई रहेको बताउँछन् । उनले स्थानीय नेपाली काँग्रेसका नेता अजय साह संयोजक रहेको व्यवस्थापन समितिलाई क्वारेन्टाइनको जिम्मा लगाएको भन्दै यसका लागि केही वजेट पनि निकासा गरिएको बताउछन् , तर सो समितिका संयोजक भनिएका साहभने सुरुवातमा आफुहरुले व्यवस्था गरेको तर जिम्मा भने नलिएको बताए ।

उनले स्थानीय नागरिकको रुपमा सहयोग मात्र गरेपनि त्यसको सम्पूर्ण जिम्मा नगरपालिकाको भएको तर आफुहरुले कुनैपनि जिम्मा नलिएको उनको भनाइ छ । उनले नगरपालिकाले आजसम्म आफुहरुलाई लिखित रुपमा कुनै जिम्मेवारी नदिएको भन्दै क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण जिम्मा नगरपालिकाकै भएको बताए ।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अभय ठाकुरले ।क्वारेन्टाइन आफ्नो जिम्मामा नपर्ने भन्दै त्यसका बसेकालाई कुनै समस्या आएमात्र आफुले केही गर्ने बताएका छन् । उनले स्वास्थ्य शाखाको काम भनेको क्वारेन्टाइनमा बसेकामा स्वास्थ्य समस्या औषधि उपचार मात्र गर्ने भएकोले त्यस ठाउँको अन्य व्यवस्थापनको जिम्मा भने आफ्नो शाखाको नरहेको बताए ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले न्यूज २४ सँग कुराकानी गर्दै सो क्वारेन्टाइनको व्यवस्थापन जिल्लाकै उत्कृष्ट रहेको दावी गर्दै कुनैपनि समस्या नरहेको बताउँछन् । उनले क्वारेन्टाइनमा बस्नेहरुलाई पाँचतारे होटलको सुविधा दिन नसकिनेभन्दै अन्य आवश्यक सुविधाभने सम्पूर्ण दिइएको ठोकुवा गर्छन् ।

उनले सो क्वारेन्टाइनको व्यवस्थापन नगरपालिकाको स्वास्थ्य शाखाको रहेको भन्दै आफ्नो शाखाको जिम्मेवारी होइन भनेर अभिव्यक्ति दिने शाखा प्रमुखलाई स्पष्टीकरण सोधिने बताए । उनले सो क्वारेन्टाइनमा जम्मा एक पटक गएको बताउँदै अब फेरि केहीँ दिनपछि अनुगमनमा जाने र केहीँ कमीकमजोरी भए सुधार गर्ने प्रतिवद्धता पनि जनाए ।

आइतबारसम्म क्वारेन्टाइनमा १९ जना रहेका छन् । नगरपालिका अहिले एकमात्र क्वारेन्टाइन रहेको र त्यसमा रहेका जम्मा १९ जना आफ्ना नागरिकलाई पनि राम्रोसँग व्यवस्था नगरेको भनेर स्थानीयद्धारा नगरपालिकाको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV