८ असार २०७७, सोमबार
  • रबिना बोहरा

बागलुङ, ८ असार । बागलुङ बजारमा वितरण हुँदै आएको खानेपानीको पाईप पहिरोले बगाएपछि बागलुङ बजारमा तीन दिनदेखि खानेपानी अवरुद्ध भएको छ ।

खानेपानी अवरुद्ध भएपछि बजारमा पानीको हाहाकार मच्चिन थालेको छ । बागलुङ बजारमा खानेपानी वितरण गर्दै आएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्था बागलुङले अविरल बर्षाको कारण आएको पहिरोले भुदीखोला मुहान,दोविल्ला र रेशमा पाईप बगाउँदा बजारमा पिउने पानी आपूर्ति हुन नसकेको बताएको छ ।

पहिरोले भुदीखोला मुहानमा ५ वटा, रेश जिरेदीमा ९ वटा र दोबिल्लामा ३ वटा जडान गरिएका पाईप बगाए पछि बजार क्षेत्र भित्र दुई दिन देखि पानी आउन सकेको छैन । पटक पटक आएको पहिरोले सदरमुकाममा ल्याएको पानीको पाईप बिभिन्न स्थानमा बगाउदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनु भयो ।

मर्मतको लागि कर्मचारीहरु आईतवारदेखि खटिएपनि अविरल बर्षाको कारण काम गर्न कठिनाई भईरहेको शर्माले बताउनुभयो । निरन्तर बर्षा भईरहे पनि मर्मतको कार्य जारी राखिएको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उहाँको भनाइ छ । पहिरोले रेशको जिरेदीमा सडक समेत बगाउदा मर्मत गर्ने स्थानमा पुग्ने समेत कठिनाई उत्पन्न भएको छ । पाइप बगाएपछि बागलुङ बजारमा पानीको समस्या भएको छ ।

बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदीखोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । रिठेखोलाबाट ३।५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक ल्याएर बागलुङ बजारमा वितरण गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV