८ असार २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, ८ असार । नेपाली कांग्रेसले प्रदेश १ संसदको सोमबारको बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै तथा काठमाडौँबाट बाहिर मोफसलमा बस्ने नागरिकलाई काठमाडौँ प्रवेशमा लगाइएको रोककोमा विरोध गर्दै बैठक अवरूद्ध गरिएकाे हाे । प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेको र कोभिड-१९ को हिसाब सार्वजनिक गर्नुपर्ने लगायत विषय उठाउँदै प्रमुख विपक्षी काँग्रेसले सदन अवरुद्ध गरेको हो । संसद बैठक सुरु हुनासाथ काँग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांँग्रेसका माग सदनमा प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख सचेतक कार्कीले सुरुमै काठमाडौं बाहिरका मानिस कुन दर्जाको नागरिक हुन् भनेर प्रश्न गर्नुभएको थियो । उहाँले काठमाडौँ जानुपर्दा नाकाबाट मानिसलाई फर्काइएको घटनाप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ जान कैयौँ नागरिक रोकिएका छन्, तर प्रदेश सरकार बोल्न नसकेको आरोप लगाउनुभयो । प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्ने भन्दै कार्कीले प्रदेश- १ सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने माग समेत गर्नुभयो ।

उहाँले मुख्यमन्त्री शेरधन राईले कोरोनासँग लड्दैछौं भनेर भिडियोमा मात्र भन्ने गर्नुभएको तर पारदर्शिता नदेखाकाे भन्दै सदनमा आएर हिसाब सार्वजनिक गर्न माग गर्नु भएको छ । उहाँले प्रदेशको नामको विषयमा कुरा उठाउँदै नाम ल्याउँछौं भनिएको थियो तर प्रतिबद्धताअनुसार नाम नआएको भन्दै विरोध गर्नुभएको थियो । साथै यातायात व्यवसायीको दुखेसो सरकारले सुन्नुपर्ने समेत उहाँकाे माग छ ।

संसद बैठक अवरूद्ध भएपछि अब मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV