८ असार २०७७, सोमबार
  • सुरेश श्रेष्ठ

दाङ, ८ असार । लकडाउनपछि खुलेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको सहभागिता अस्वाभाविक रुपमा बढेपछि त्यसको व्यवस्थापनमा दाङको तुलसीपुरका युवाहरु जुटेका छन् ।

तुलसीपुरका युवा अरुण लहरेको अगुवाईमा तुलसीपुर युवा ग्रुप निर्माण गरेर अहिले कार्यालयहरुमा भएको अव्यवस्थित भीडभाडलाई व्यवस्थित गराइरहेका छन् । कार्यालयमा आउने सेवाग्राहीलाई सामाजिक दुरी कायम गराउने, स्वास्थ्य तथा सरसफाईको जानकारी गराउने र सिस्टम अनुसार कार्य सम्पादन गराउन सहयोग गराइरहेको अगुवा लहरेले बताए । उनले पहिलो चरणमा विद्युत कार्यालयमा यो काम गरिएको जानकारी दिए ।

कोरोनाको महामारीकाे समयमा कार्यालयहरुमा देखिएको अव्यवस्थित भीडले कोरोनाको जोखिम बढाउने देखेर यस्तो कार्यको सुरुवात गरिएको उनको भनाइ छ । सेवाग्राहीको भीडभाड हुने सबै कार्यालयहरुमा गरिने याे स्वयंसेवा रहेको भन्दै यसमा सबै सचेत हुनुपर्ने बताए ।

सरकारले असार १ गतेदेखि सबै कार्यालयहरु खोल्ने भनेपछि कार्यालय अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका छन् । विद्युत कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय र स्थानीय तहका कार्यालयहरुमा अहिले सेवाग्राहीको बढी लापरबाही देखिएको अवस्थामा युवाहरुको यो कार्य सह्राय देखिएको छ । सामाजिक कार्यमा युवा परिचालन संयोजक निश्चल गुरुङ कोरोनाबाट कसरी जोगाउन सकिन्छ भनेर समुहका साथीहरुलाई परिचालन गरेर काम गरिरहेको बताउँछन् । उनले यो कार्यलाई अवस्था सहज नहुँदासम्ममा लैजाने बताए ।

सेवाग्राहीले पनि व्यवस्थापनले धेरै सहज बनाएको बताएका छन् । उनीहरुले सामाजिक दुरी कायम गरेर व्यवस्थापन भएको भन्दै सेवा लिन धेरै सहज भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV