८ असार २०७७, सोमबार
  • कुष्ण विष्ट

बैतडी, ८ असार ।  बैतडीको पाटन नगरपालिकालाई सिल गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि भन्दै हिजो बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हाे ।

नगरपालिकालाई आजदेखि १ हप्ताका लागि पुर्ण रुपमा सिल गरिएको नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दले जानकारी दिनुभयो । कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले बजार क्षेत्रहरु पाटन, खोडपे, ठाँड मानिकाखान लगायतका सबै बजार क्षेत्र आजदेखि आगामी सोमबार सम्म १ हप्ताका लागि सिल गर्ने निर्णय गरिएको नगर प्रमखु चन्दले बताउनुभयो ।

कोरोना संक्रमण थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । यसैगरी अत्याआवश्यक कामको लागि आवतजावत तथा किनमेल गर्नुपरे सम्बन्धित वडाका वडा अध्यक्षहरु सँग समन्वय गर्न सकिने पनि जनाइएको छ ।

बजारक्षेत्र सिल गर्ने उक्त निर्णयको अवज्ञा गरी बजार तथा व्यवसाय सञ्चालन गरेको पाइएमा पहिलोचोटि ५ हजार र दाश्रो चोटि १० हजार जरिवाना पनि गराइने जानकारी गराइएको छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा आज साेमबार, आगामी बिहीबार र आइतबार मात्रै खोल्ने तथा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै सञ्चालनमा आउने निर्णय भएको पनि नगर प्रमुख चन्दले बताउनुभयो ।

पाटन नगरपालिकामा आजसम्म ८ जनामा कोरोना देखिएको छ । १ जनामा कोरोनाको लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरिएको थियो ।

बजार सिल भएपछि साेमबार बिहानैदेखि खाेड्पे बजार सुनसान देखिएकाे छ । लकडाउन खुकुलाे भएसँगै चहलपहल बढेकाे बजार पुनः सुनसान भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV