८ असार २०७७, सोमबार

एजेन्सी, ८ असार । स्पेनिस ला लिगामा रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएकाे खेलमा रियल म्याड्रिडले रियल सोसीडाडलाई २-१ गाेल अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हाे ।

रियल म्याड्रिड र साविक विजेता बार्सिलोनाको समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ ।

म्याड्रिडलाई जित दिलाउनकाे लागि करीम बेन्जेमा र कप्तान सर्जियो रामोसले समान एक-एक गाेल गरे । म्याड्रिडले दुवै गाेल दाेस्राे हाफमा गरेकाे थियाे ।

दोस्रो हाफको सुरुवातमा नै रियल म्याड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्यो । डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

सोसीडाडले खेलको ६८ औं मिनेटमा गोल फर्काएका थिए । तर रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै गोललाई मान्यता दिएनन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले गरेकाे गाेल भीएआरले सोसीडाडका मिकेल मेरिनोले अफसाइड अवस्थामा खेलमा प्रभाव पारेको निष्कर्ष निकालेको थियाे ।

७० औं  मिनेटमा बेन्जेमाले गाेल गर्दै म्याड्रिडलाई अग्रता दोब्बर दिलाए ।  ८३ औं मिनेटमा मिकेल मेरिनोले गाेल गर्दै घरेलु टोली सोसीडाडले एक गोल फर्काए । त्यसपछि दुवै टाेलीबाट कुनै पनि गाेल हुन नसक्दा खेल म्याड्रिडले २-१ गाेल अन्तरले जित्याे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV