८ असार २०७७, सोमबार

म्याग्दी, ८ असार । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्दावर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था म्याग्दी सेवा समाजले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । हालै गठन भएको संस्थाले कोभिड–१९ कमाण्ड पोष्टमार्फत प्रयोग गर्नेगरी म्याग्दीमा उक्त सामग्रीहरु सहयोग गरेको जनाएको छ ।

संस्थाले ७६ हजार रुपैयाँको गुणस्तरीय एन नाइन्टी फाइभ मास्क र २४ हजारको शंकास्पद बिरामीको मृत्यु भएमा आवश्यक पर्ने शव व्यवस्थापन सामग्री सहयोग गरेको हो । सो सामग्रीहरु आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरलाई संस्थामार्फत न्यूज २४ टेलिभिजनका म्याग्दीस्थित टिभी जनलिष्ट हरिकृष्ण गौतमले हस्तान्तण गर्नुभएको थियो ।

संस्थाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट पिपिईमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने, कोरोना रोकथामका लागि फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई प्रयोग गर्नेगरी ८ सय थान एन नाइन्टी फाइभ मास्क र  शव व्यवस्थापन गर्न ६ सेट आवश्यक स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो । संस्थाले उपलब्ध गराएको नगदलाई प्रजिअका सवारीचालक आनन्द रिजालले काठमाडाैँमा पुगेर खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले अति आवश्यक सामग्री प्राप्त भएको बताउँदै संस्थाका अध्यक्ष राम केसीसहित सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभएको थियो । यता संस्थाका अध्यक्ष केसीले उक्त सामग्रीलाई अति आवश्यक परेको क्षेत्रमा प्रयोग गर्न अनुरोध गर्दै आवश्यक परेमा भविष्यमा पनि संस्थामार्फत सहयोग गर्ने टेलिफोनमार्फत प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV